बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युले गाउँनै नै शोकमा डुबेको छ। हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै परिवारजनले शव बुझ्न मानेका छैनन्।


ADVERTISEMENT


२१ माघमा विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी थालिएको थियो। उनको २२ माघ साँझ स्थानीय लबलेक जङ्गलमा शव भेटिएको थियो।


ADVERTISEMENT

# # #


स्थानीय केशव भट्टले अकल्पनीय घटना भएको बताए। उनको शव भेटिएपछि गाउँ नै शोकमग्न भएको अर्का स्थानीय शङ्करदत्त भट्टले बताए। ‘विद्यालयबाट फर्किने वेला घटना भएको छ, यस घटनाले छोरी चेलीहरूलाई विद्यालय पठाउनसमेत डराउनुपर्ने भएको छ,’ उनले भने।

भागरथीका बुबाको दुई महीना अघिमात्रै मृत्यु भएको थियो। उनका दाजु रोजगारीको सिलसिलामा भारतको दिल्लीमा छन्। छोरी गुमाएकी द्रोपती निकै पीडामा छिन्। श्रीमान् बितेको पीडामै रहेकी उनलाई सन्तान गुमाउँदाको पीडाले झनै थिचेको छ।

भागरथीको बलात्कार गरी हत्या गरिएको आशङ्का आफन्तको छ। कपडा च्यातिएको, शरीरमा निलडाम, घाउ, यौनाङ्गमा रगत, घाँटी निमोठेको अवस्थामा शव फेला परेको छ। यो सबै हेर्दा बलात्कारपछि हत्या भएको उनका काका शिवराज भट्टले बताए।

भागरथीको शव परीक्षण गरिएको छ। परीक्षणको रिपोर्ट आउन अझै एक दुई दिन लाग्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा। वशन्तराज जोशीले बताए।

उनका आफन्तजले शव बुझेका छैनन। ‘अपराधी पत्ता लागेको छैन, आज शव परीक्षण गरिएको भए पनि हामीले बुझेका छैनौँ,’ उनका काका शिवराजले भने।

किशोरीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुमानअनुसार प्रहरीले घटना भएको क्षेत्रमा त्यो दिन हिडडुल गर्नेलाई सोधपुछ गरिहेको छ। घटना शङ्कास्पद रहेकाले खोचलेक–चडेपानी सडकखण्डमा बुधबार–बिहीबार सञ्चालन भएका सवारी साधनको खोजी गरिरहेको छ।

सवारी साधनमा आवतजावत गर्ने व्यक्तिहरूलाई पनि सोधपुध भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले बताए। ‘किशोरीका गाउँका विद्यार्थीसँगै सहपाठीहरूलाई पनि सोधपुध गरिरहेका छौँ,’ उनले भने।

घटनालाई गम्भीररुपमा लिएकोले अनुसन्धानलाई पनि तीव्र बनाएको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोली पुगेर काम थालिरहेको हो।

यस घटनाको अनुसन्धानमा सघाउन एसएसपीको नेतृत्वमा छुट्टै प्राविधिक टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षकलाई खटाइएको छ।

यसका साथै धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। किशोरीले प्रयोग गरेको मोबाइल पनि भेटिएकोले अनुसन्धानमा थप सहज भइरहेको प्रहरीको भनाइ छ। मोबाइल भेटिएपछि कल डिटेललगायत गरेर अनुसन्धान जारी छ। रासस