ललितपुर– ग्वार्को बस्दै आएका दीपक थापाले चालक अनुमतिपत्रका लागि लिइएको लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको आठ महिना भयो । अझैसम्म उनको हातमा चालक अनुमतिपत्र पर्न सकेको छैन ।


ADVERTISEMENT


उनले दैनिकजसो कार्यालयमा सम्पर्क गरेर अनुमतिपत्र आए वा नआएको बुझ्ने गरेका छन् । उनले सधैँ जवाफ नकारात्मक नै पाएका छन् । गत साता भने उनी कार्यालयमा नै आफ्नो अनुमतिपत्र कहिले आउँछ भन्ने बुझ्न आएको भेटिएका थिए । उनले भने, “अझै पनि कहिले आउँछ भन्ने टुङ्गो छैन भन्ने जवाफ पाएँ ।”


ADVERTISEMENT

# # #


यातायात व्यवस्था कार्यालय वाग्मती अञ्चल कार्यालयबाट चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तीर्ण भएका थापाजस्ता झण्डै चार लाख जनाले अनुमतिपत्र पाएका छैनन् । नौ महिना पहिले परीक्षा पास गर्ने सेवाग्राहीसमेत चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा पास भएर सरकारलाई तिरेको राजश्वको कागज लिएर हिँड्छन् ।

विभागमा छाप्ने उपकरण (मेशिन) कमीका कारण धेरै सेवाग्राहीले हैरानी बेहोरेका छन् । एकातिर उनीहरुले परीक्षा उत्तीर्ण भएको लामो समय बित्दासमेत अनुमतिपत्र पाएका छैनन् भने अर्कातिर ट्राफिक प्रहरीले सडकमा रसिदका भरमा चलाउँदा अनुमतिपत्र नै माग्ने गरेका छन् ।

सातदोबाटोकी मैना अर्यालले छ महिना पहिले नयाँ स्कुटर किनिन् । सामान्य चलाउन जानेपछि उनले प्रशिक्षण केन्द्रमा गएर ‘ट्रायल’(चालक प्रयोगात्मक परीक्षा) का लागि सिकेकी थिईन् । उनले पहिलो पटकमा नै परीक्षा पास पनि गरिन् । तर परीक्षा पास गरेको पाँच महिना बितिसक्दासमेत चालक अनुमतिपत्र पाएकी छैनन् । उनले भनिन्, “ परीक्षा उत्तीर्ण गरेर पनि ढुक्कसँग चलाउन पाएको छैन ।”

चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेको रसिद बोकेर नै अर्यालले स्कुटर चलाउने गरेकी थिईन् । एक पटक रसिद कपडा धुँदा च्यातिएर गयो । निवेदन दिएर बल्ल रसिदको प्रतिलिपि लिएको उनले बताईन् । उनले भनिन्, “फेरि पनि च्यातिर जाने अवस्थामा पुगिसक्यो ।” उनले केही समय पहिले भने त्यही च्यातिन लागेको रसिद ‘लेमिनेसन’ गरेर बोक्न थालेकी छन् ।

सेवाग्राहीलाई परेको समस्याका बारेमा जानकारी भएर पनि केही गर्न नसकिएको वाग्मती अञ्चल कार्यालयका सूचना अधिकारी भक्त विष्टले बताएका छन् । यहाँबाट लिइएको परीक्षा पास गरेको लामो समय बित्दासमेत सेवाग्राहीले प्रमाणपत्र पाएका छैनन् । उनले भने, “भएका उपकरण अपुग भए थपेर पनि सेवाग्राहीलाई चाँडो सेवा दिनुपर्छ ।”

आफूले राजश्व तिरेको लामो समय हुँदासमेत चालक अनुमतिपत्र नपाएको भन्दै धेरै जना सेवाग्राही कार्यालय आउने गरेका छन् । कतिपयले नम्र भाषामा त कति सेवाग्राही त झगडा गर्ने उद्देश्यले आइपुग्ने सूचना अधिकारी विष्टले बताएका छन् । उनले भने, “समयमा दिन नसक्नु हाम्रै गल्ती हो । त्यसैले चुप लागेर बस्नुपर्ने अवस्था छ ।” पटक–पटक यहाँ आइरहेका सेवाग्राही बढी रिसाउने गरेका छन् ।

सेवाग्राहीलाई धेरै खालका समस्या परेको विष्टले बताएका छन् । कतिपय सेवाग्राही विदेश जानका लागि चालक अनुमतिपत्र बनाएका छन् । उनले भने, “प्रवेश आज्ञा आइसक्दासमेत चालक अनुमतिपत्र नआउँदा उहाँहरुलाई समस्या छ ।”

सडकमा ट्राफिक प्रहरीले समय–समयमा कागजपत्र जाँच गर्छन् । चालक अनुमतिपत्रमा जस्तो फोटो नहुँदा आफ्नै हो भनेर विश्वास दिलाउन गाह्रो पर्ने सेवाग्राहीले कार्यालयका कर्मचारीलाई बताउने गरेका छन् । अनुतिपत्रजस्तो बलियो नहुँदा रसिद च्यातिने वा भएका कुरा मेटिँदा धेरै सेवाग्राहीले त्यसको प्रतिलिपि समेत लिएका छन् । उनले भने, “रसिदकै प्रतिलिपि लिनेसमेत गर्दा यहाँ सेवाग्राहीको चापसमेत बढ्छ ।”

नेपाल सरकारले तीन वर्ष पहिले वाग्मती अञ्चल कार्यालयबाटै ‘स्मार्ट चालक अनुमतिपत्र’ वितरण थालेको थियो । अरु अञ्चल कार्यालयमा पुरानो खालको चालक अनुमतिपत्र वितरण गर्दा पहिले ‘स्मार्ट चालक अनुमतिपत्र’ लिनकै लागि कार्यालयमा भीड थियो । अघिल्लो वर्षसम्म अरु अञ्चल कार्यालयको सेवासमेत नियमित थिएन । उनले भने, “कहिले खुल्ने र कहिले बन्द हुने हुँदा धेरै सेवाग्राही यही आउने गरेका थिए ।”

अघिल्लो आर्थिक वर्षबाट सबै अञ्चल कार्यालयले ‘स्मार्ट चालक अनुमतिपत्र’ वितरण गरिरहेको सूचना अधिकारी बिष्टले बताएका छन् । ती कार्यालयले नियमित सेवा दिँदा यहाँको चाप कम हुँदै गएको छ । अझैसम्म अरु १३ वटा कार्यालयमा जत्तिकै यहाँको एउटा कार्यालयमा सेवाग्राहीको चाप रहेको उनले बताएका छन् । वाग्मति अञ्चल कार्यालयले अहिलेसम्म दुई लाखको हाराहारीमा चालक अनुमतिपत्र वितरण गरिसकेको जनाएको छ । रासस