काठमाडौं–पूर्वपरराष्ट्रमन्त्री कमल थापाले आसन्न नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गर्न नहुने बताएका छन् । संविधानलाई स्वागत र आर्थिक नाकाबन्दीप्रति दुःख प्रकट नगर्दासम्म मोदीलाई नागरिक अभिनन्दन गर्नु अस्वभाविक हुने उनले बताए ।


ADVERTISEMENT


साथै प्रधानमन्त्री केपी ओलीलाई मोदीको नागरिक अभिनन्दनलाई कसरी पुष्टि गर्नुहुन्छ भनी प्रश्न गरेका छन् । भारतीय प्रधानामन्त्री मोदी वैशाख २८ गते नेपाल आउँदैछन् । पटनाबाट सिधै जनकपुर आउने उनलाई त्यहाँ नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ ।


ADVERTISEMENT

# # #


राप्रपा अध्यक्ष समेत रहेका पूर्वपरराष्ट्रमन्त्री थापाले मोदीलाई जनकपुरमा भव्य र बिशाल नागरिक अभिनन्दन गरिने खबर आफ्नो मन मस्तिष्कमा बिझिरहेकोे बताएका छन् । उनले भनेका छन्, ‘थुप्रै कमीकमजोरीका बावजुद सर्वाभौम नेपाली जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले विधिपुर्वक निर्माण गरेको संबिधानलाई स्वागत नगरेको र आफूले लगाएको आर्थिक नाकाबन्दीप्रति दुःख समेत प्रकट नगरेको अवस्थामा नरेन्द्र मोदीजीको नागरिक अभिनन्दन अस्वभाविक र अनाबश्यक छ ।’

महाभूकम्पको पीडा सेलाउन नपाउँदै भारतले लगाएको नाकाबन्दीबाट भूकम्पभन्दा आर्थिक नोक्सानी हुनुका साथै दशैं, तिहार र छठ जस्ता पर्वमा जनताले घरमा चुल्हो बाल्न नपाएको स्मरण गर्दै पूर्व परराष्ट्रमन्त्री थापाले भनेका छन्, ‘त्यो घटना अमानविय थियो र त्यसले पुराएको घाउ निको हुन समय लाग्छ ।’

नाकाबन्दीको समयमा केपी ओली सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री रहेका थापाले नाकाबन्दीसँग गांसिएको उतार चढाव तथा क्रिया प्रतिक्रिया सम्बन्धमा आफ्नै अविस्मरणीय अनुभूति रहेको बताए । उनले भनेका छन्, ‘जिनेभामा भएको संयुक्त राष्ट्रसंघको एक सभामा भारतीय प्रतिनिधिले नेपालको संविधान, मानव अधिकारको स्थिति र मधेस आन्दोलनवारे गरेका अतिरंजित नकरात्मक टिप्पणी अहिले पनि मेरो कानमा गुञ्जिरहेको छ । पटक पटकको भारत भ्रमणको क्रममा सुन्नु परेका दबावमुलक भनाइहरु बिर्सेको छैन ।’

थापाले अघि भनेका छन्, ‘संविधान अपूर्ण, असमावेशी र सर्वस्विकार्य छैन भनि वाशिंगटनदेखि बेलायत र ब्रसेल्ससम्म भारतीय पक्षबाट एकोहोरो गरिएको प्रचार अभियान चिर्न कति कठिन थियो, त्यसवारे भविष्यमा अझ थप चर्चा हुने नै छ ।’

तत्कालीन प्रधानमन्त्री ओलीको भारत भ्रमणमा संयुक्त बिज्ञप्ति जारी हुन नसकेको तितो सम्झना रहेको उल्लेख गर्दै थापाले भनेका छन्, ‘नाकावन्दी र संविधानवारे भारतीय व्यवहारका भुक्तभोगी प्रधानमन्त्री केपी ओलीले नागरिक अभिनन्दनलाई कसरी पुष्टि गर्नु हुनेछ, त्यो मेरा लागि जिज्ञासाको बिषय हो ।’

निर्वाचन र सरकार निर्माणबारे भारत सरकारले अहिले गरेको सकारात्मक टिप्पणी स्वागतयोग्य रहेको तर, नेपालको संविधानवारे भारतको नकारात्मक सोचाईमा सुधार र नाकाबन्दीप्रति दुःख प्रकटको सदैव अपेक्षा रहने थापाले बताएका छन् ।