काठमाडौं–यातायात व्यवस्था विभागले एक महिनाभित्र स्मार्ट लाइसेन्स दिने तयारी थालेको छ ।


ADVERTISEMENT


‘देशभरको जुनसकै यातायात कार्यालयबाट ट्रायल पास गरे पनि स्मार्ट कार्ड प्रदान गर्छौं’, विभागका निर्देशक एवम् सूचना अधिकारी तुलसीराम अर्यालले भने– ‘राजस्व तिरेको एक महिनाभित्र स्मार्ट लाइसेन्स लिन सकिन्छ।’


ADVERTISEMENT

# # #


तर उनले काठमाडौं उपत्यकामा भने एक साताभित्रै दिन सकिने दाबी गरे । सेवाग्राहीले सवारी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेको ७ महिना हुनलाग्दा पनि लाइसेन्स पाउन सकेका छैनन् । कार्डका लागि समयमै टेन्डर नहुँदा लाइसेन्स वितरणमा विलम्ब भएको हो । गत असोजमा ट्रायल पास गरेका सेवाग्राहीले अहिलेसम्म लाइसेन्स पाएका छैनन् । असोजयता मात्र साढे ५ लाख स्मार्ट कार्ड प्रिन्ट हुन सकेको छैन ।

सेवाग्राहीहरू स्मार्ट लाइसेन्स लिनका लागि दिनहुँ यातायात व्यवस्था विभाग धाउने गरेका छन् । विभागले सहजरूपमा स्मार्ट कार्ड वितरण गर्नका लागि बिहान सात बजेदेखि बेलुका सात बजेसम्म दुई सिफ्टमा स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने व्यवस्था गर्न लागिएको जनाएको छ ।

सूचना अधिकारी अर्यालले लाइसेन्स वितरणमा ढिलाइ हुनुमा विभाग नै जिम्मेवार रहेको स्वीकार्दै गत वर्ष टेन्डर नहुँदा समस्या आएको बताए । स्मार्ट लाइसेन्स दिन अर्थ मन्त्रालयसँग बजेट स्वीकृति लिइसकिएकाले कार्ड टेन्डरमा आर्थिक समस्या नहुने उनको भनाइ थियो ।

‘साढे ७ लाखमध्ये साढे ३ लाख कार्ड आइसकेका छन्, साढे ३ लाख कार्ड छाप्नका लागि ४ वटा प्रिन्टर एक महिनाभित्र आउँदैछन्’, अर्यालले भने– ‘अब देशभरका कार्ड छाप्न ९ वटा प्रिन्टर चलाउँछौ ।’

अहिले दैनिक १२ सय कार्ड मात्र छापिँदै आएको र त्यसमा बढाएर अब दैनिक ३ हजार बनाइने उनले जानकारी दिए । ९ वटा प्रिन्टर दैनिकरूपमा सञ्चालन गरेको अवस्थामा अझै २ महिनामा साढे २ लाख कार्ड छापिने र त्यसपछि सहजरूपमा वितरण गर्न सकिने गृहकार्य विभागले गरेको छ । २०७२ मंसिरबाट स्मार्ट कार्ड वितरण प्रक्रिया शुरू भएको थियो । सूचना अधिकारी अर्यालका अनुसार २०७२ मंसिरबाट हालसम्म ३ लाख ५० हजार स्मार्ट कार्ड वितरण भइसकेका छन् ।

विभागले कागजी लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स लागू गरेपछि दिन प्रतिदिन माग बढ्दै गएको छ । कागजी लाइसेन्स हुनेहरूले समेत स्मार्ट कार्डका लागि निवेदन दिएका छन् । विभागले गतअसोजमा एकै पटक ७ लाख ५० हजार कार्डका लागि भद्रास प्रिन्टसँग सम्झौता गरेको थियो । अहिले दैनिक झण्डै ४ हजार कार्डको माग छ । देशभर हाल २८ लाख सवारीसाधन रहेको विभागसँग तथ्यांक छ । – आजको नेपाल समाचारपत्रबाट