काठमाडौँ,
१०-असोज /  निधारभरी रातो अक्षताको टीका र शिरमा जमरा नलगाए सम्म दशैँ माने जस्तै लाग्दैन चितवनकी निसा पौडेललाई । हिन्दुहरुको सबै भन्दा ठुलो पर्वको रुपमा दशैँलाई मान्ने गरिन्छ । बर्ष दिनमा आउने दशैँमा टीका जमरा नलाइ कसरी बस्नु, निसा भन्छिन् ।


ADVERTISEMENT


निसा जस्तै धादिङ्का मनोज छतकुली पनि नयाँ कपडा लगाउने, मिठो खाने र टिका जमरा नलगाए सम्म दशैँ माने जस्तै नलाग्ने बताउँछन् ।


ADVERTISEMENT

# # #


नेपालको कूल जनसंख्या २ करोड ६४ लाख मध्ये झण्डै २ करोड १५ लाख अर्थात कूल जनसंख्याको ८२ प्रतिशत मानिस हिन्दुधर्म मान्छन् । झण्डै २४ लाख जनसंख्याले बौद्धधर्म मान्ने गरेको नेपालको जनगणना २०६८ को तथ्यांकले देखाएको केन्द्रिय तथ्यांक विभागका सन्चार प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए ।

निसा र मनोज जस्तै नेपालका ८२ प्रतिशत हिन्दुधर्मावलम्बिहरुले परम्परा स्वरुप दशैँमा अनिवार्य रुपमा चामलको अक्षताको टीका र जमरा लगाउने लगाउने गर्छन् । कतिपय बौद्ध धर्म मान्नेहरुले समेत दशैँमा टीका लगाउने गर्छन । चामलमा दहि र अविर मिलाएर बनाइएको अक्षताको टीका निधारै छोपिने गरि लगाएको दशैँमा देख्न सकिन्छ ।

टीका लगाउनकै लागि हरेक परिवारले कम्तिमा पनि एक मानो चामल छुट्याउने गरेका हुन्छन् । जुन दशैँको दशमी देखि पूर्णिमा सम्म प्रयोग गर्ने गरिन्छ । दशैँको शुरुको दिन घटस्थापना देखिनै देवीको पुजामा पनि अक्षताले नै पुजा गर्ने परम्परा छ । ९ दिन सम्म देवीको पुजाका लागि अविरमा मुछेर चामलको अक्षता प्रयोग गर्ने गरिन्छ ।

दशैँमा नवदुर्गाको पुजा आराधना गरिने र त्यसको प्रसादको रुपमा मान्यजनको हातबाट आशिरवचन सहित टीका थाप्ने संस्कृति रहेकाले अनिवार्य रुपमा अक्षताको टीका लगाउने प्रचलन रहेको पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सुर्य ढुंगेल बताउँछन् । परापूर्वकालदेखि मनाइँदै आएको परम्परा अनुसार शक्ति स्वरुपा देवीको पुजा आराधनामा शुद्ध अनाजको रुपमा चामलको अक्षताको प्रयोग गरिएको उनले बताए । अविरमा मुछेर लगाइने रातो अक्षता शुभ प्रतिक रहेकाले हिन्दुधर्म सस्कृतिमा यसको प्रयोग भएको बताउँछन् ढुंगेल ।

झण्डै ८२ प्रतिशत हिन्दु धर्मावलम्बिले धर्मसस्कृतिको नाममा दशैँको टीकामा चामलको प्रयोग गर्दा धेरै चामल त्यतिकै खेर जाने देखिएको छ । एक जनाले दशैँमा लगाउने अक्षतामा कम्तिमा १० ग्राम मात्रै चामल प्रयोग गरेपनि झण्डै २ लाख १५ हजार केजि चामल खर्च हुने देखिएको छ । त्यसमा बौद्ध धर्मका व्यक्तिले समेत टिका लगाए यो परिणाम २ लाख ३८ हजार केजि पुग्ने देखिन्छ ।

मुलुकमा २०७२ सालको महाभुकम्प र केहि समय अघि मात्रै आएको बाढी पहिरो र डुबानका कारण कयौँ परिवारलाई अझै पनि एक छाक खान धौ धौ छ । सूदुर पहाडी र हिमालि क्षेत्रका बासिन्दा समेत खाद्यसस्थानले कहिले चामल देला भनेर कुरेर बस्नु पर्ने बाध्यता छ । पहाड तथा दुर्गमका चेपाङ् समुदाय तथा राउटे परिवार अहिले पनि कन्दमूल खाएर जीवन धानिरहेका छन् ।

तर यस्ता समस्याका बाबजुद पनि दशैँमा टिका लगाउँदा मात्रै यति ठुलो मात्रामा चामल खेर गएको प्रति भने कसैको ध्यान जान सकेको छैन । यसरी खेर जाने चामल जम्मा गरेर भोकभोकै जीवन गुजारा गरिरहेकाहरुसम्म पु¥याउन सके पनि ठुलै राहत हुने थियो । दशैँमा चामलको प्रयोग गर्नुको सट्टा रातो अविरको टिका मात्रै लगाएर चामल बचाउँदै भोकमरी तथा खाद्यान्न नपुगेका ठाउँ सम्म यसरी बँचेको चामल पुर्याउने तर्फ सबैले ध्यान दिने कि ?
-नवराज फुयाँल / हरेक पल