काठमाडौं–जर्मनीका मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । इंग्लिस क्लब आर्सनलबाट व्यवसायिक फुटबल खेल्दै आएका ओजिलले आइतबार राति एक विज्ञप्ति निकाल्दै सन्यासको घोषणा गरेका हुन् ।
भारी हृदय, धेरै सोचविचार र पछिल्लो घटनाक्रमले आफू जर्मनीबाट अन्तर्राष्ट्रिय खेल नखेल्ने निर्णय गरेको उनले विज्ञप्तिमा भनेका छन् । पछिल्लो समय रूसमा सम्पन्न विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेपछि जर्मनीसहित उनको कडा आलोचना भएको थियो ।
डिफेन्डिङ च्याम्पियन जर्मनी रूस विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । विश्वकप पछि टर्कीका राष्ट्रपतिलाई भेटेपछि उनी थप आलोचित बनेका थिए । टर्की मूलका ओजिललाई टर्कीको समर्थन गरेको आरोप लाग्दै आएको थियो ।
यस्तै विश्वकपमा उनको प्रदर्शनलाई लिएर पनि आलोचना भईरहेको थियो । यसैबीच उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् । ओजिलले आफ्नो लागि यो निर्णय निकै कठिन भएको भन्दै एक उत्साह र गर्वका साथ जर्मनीको जर्सी लगाउने गर्थे। तर, अब नलगाउने बताएका हुन् ।
‘यो निर्णय मेरो लागि कठिन हो किनभने मेरो टिममेट, प्रशिक्षक र जर्मनीका असल जनताले मलाई सबै दिएका थिए,ु उनले भनेका छन् ।
सन् २००९ मा जर्मनीको राष्ट्रिय टोलीबाट डेब्यू गरेका २९ वर्षीय ओजिलले ९२ अन्तर्राष्ट्रिय खेलबाट २३ गोल गरिसकेका छन् । सन् २०१४ को विश्वकप जित्दा जर्मनीका मुख्य खेलाडी रहेका ओजिल पाँच पटकसम्म जर्मन प्लेयर अफ दि इयर भएका थिए ।
जर्मनीबाट ओजिलले सन् २०१२ र २०१६ को युरोकप समेत खेलेका थिए र २०१४ को विश्वकपमा उनको महत्वपूर्ण योगदान रहेको छ ।