काठमाडौँ – रास्वपा प्रमुख सचेतक सन्तोष परियारले ‘कुलिङ अफ पिरियड’ प्रकरणको छानविन गर्न गठित समितिको संयोजक कांग्रेसलाई दिदा प्रश्न उठ्न सक्ने बताएका छन् ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले कांग्रेसकै सांसद रहेको सभापतिमाथि छानविन गर्न बनेको समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्न सक्ने तर्फ सभामुखको समेत ध्यानाकर्षण गराएको बताए । छानविन समितिको नेतृत्व नगर्न रास्वपाले दिएको सुझावलाई गम्भीर रुपमा नलिएको उनले बताए ।
उनले कुलिङ अफ पिरियड प्रकरणको छानविनका लागि राज्य व्यवस्था समितिका सभापतिले राजीनामा दिनुपर्ने सुझाव समेत कार्यव्यवस्था परामर्श समितिमा दिएको जानकारी दिए । ‘हाम्रो विधायिकको जुन सार्वभौमिकता र स्वतन्त्रता हो, नेपालको सार्वभौम संसदमाथि यो किसिमको खेलाँची र षड्यन्त्र क्षम्य होइन ।’ उनले भने, ‘पहिलो कुरा समिति सभापतिले राजीनामा दिनुपर्छ र सभिव त्यहाँ रहनुहुँदैन । दोस्रो कुरा हामीले नेपाली काँग्रेस छानबिन समितिको नेतृत्वमा हुनुहुँदैन भनेको थियौँँ, तर, त्यसलाई गम्भीरतापूर्वक लिइएन ।’
परियारले रास्वपा निर्णायक शक्ति नभएकाले गलत कुराहरुलाई रोक्न नसकिएको धारणा राखे । परियारले छानविन समितिको नेतृत्वको विषयमा असहमति हुँदाहुँदै पनि संसदमा भएका गलत कामलाई रोक्नका लागि पार्टीबाट छानविन समितिमा सदस्य पठाएको बताए ।
उनले सार्वभौम संसद बनाएको कानूनलाई कुनै अमुक व्यक्ति वा संस्थाबाट प्रभावित भएर परिवर्तन गर्ने जस्तो कुरा अब उपरान्त कहिले पनि नहुने गरि बिशेष छानविन समितिले काम गर्ने विश्वास व्यक्त गरे ।