राहुल गुप्ता, बारा – फेटा गाउँपालिकाको १६औं गाउँसभा शुक्रबार गाउँपालिका कार्यालयमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२र८३ का लागि ४० करोड ९ लाख २२ हजार ३४४ रुपैयाँको बजेट सर्वसम्मतिले पारित गरेको छ।


ADVERTISEMENT


गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीले आगामी वर्षका लागि नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्। उनले समावेशी विकासलाई केन्द्रमा राख्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक सुरक्षा तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको जानकारी दिए।


ADVERTISEMENT

# # #


शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता

बजेटमा विद्यालय सुधार, छात्रवृत्ति प्रदान, तथा डिजिटल शिक्षण उपकरणको उपलब्धतामार्फत शिक्षालाई प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ। स्वास्थ्य क्षेत्रमा गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूको स्तरोन्नति गरी गुणस्तरीय तथा सर्वसुलभ सेवा सुनिश्चित गरिने उल्लेख छ।

कृषि तथा पूर्वाधार विकासमा प्रभावकारी लगानी

कृषकलाई बीउबिजन, अनुदान र सिँचाइ पूर्वाधार प्रदान गर्न बजेट विनियोजन गरिएको छ। साथै, सडक, खानेपानी, विद्युत् तथा सरसफाइजस्ता आधारभूत पूर्वाधारको विकासमा पनि विशेष ध्यान दिइने भएको छ।

जनसहभागिता र पारदर्शिता सुनिश्चित

अध्यक्ष अंसारीले बजेट निर्माणमा वडास्तरीय जनप्रतिनिधि तथा नागरिकहरूको सुझाव समेटिएको जानकारी दिँदै बजेट कार्यान्वयनमा पारदर्शिता, अनुगमन प्रणाली र जनसहभागितालाई सशक्त बनाइने प्रतिबद्धता जनाए।

गाउँसभामा उपाध्यक्ष निलम साह, प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद तिवारी, लेखा प्रमुख भोला यादव, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, वडा सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।