काठमाडौँ– सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाले द्वन्द्वपीडित व्यक्तिहरुलाई आयोगमा राख्नु उचित नहुने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा थापाले स्वार्थको द्वन्द्व हुने भएकाले द्वन्द्वपीडित व्यक्तिहरुलाई आयोगमा राख्नु उचित नहुने बताए । उनले आयोगका रहँदा आफुले कानूनभन्दा तलमाथि नगर्ने जनाए ।
थापाले आयोगलाई काम गर्न सवैले सहयोग गर्नुपर्ने भन्दै काम नगर्न नसके राजीनामाको सुझाव उचित नभएको जिकिर गरे । अध्यक्ष थापाले द्वन्द्वपीडितहरुको अस्वभाविक दवाव स्वीकार्न नसकिने बताए ।
अध्यक्ष थापाले द्वन्द्वपीडितले अस्वभाविक दबाब दिन खोजेको धारणा राखेपछि माओवादीका राष्ट्रियसभा सदस्य मनरुपा शर्माले धम्काउने भाषा बोलेको भन्दै आपत्ति जनाए । द्वन्द्वपीडितले भोग्नुपरेको समस्याका बारेमा जानकारी लिएर मात्रै अभिव्यक्ति दिन उनले सुझाव दिए । उनले आयोगका अहिलेको नेतृत्वबाट न्याय पाउने आश नरहेको बताए ।
त्यस्तै बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गडतौलाले सवैको सहयोगमा नै पीडितलाई न्याय हुने गरि कार्यसम्पादन गर्ने बताए ।
उनले गम्भीर मानवअधिकार उलंघनका घटनामा क्षमादान नहुने भएकाले त्यसमा गम्भी रहेको धारणा राखे ।
त्यस्तै समिति सदस्यहरुले सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषयलाई छिटो टुङ्ग्याउने गरि पूर्वाग्रही नभइ काम गर्न सुझाव दिएका थिए ।