काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानविन गर्न माग गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद मोदीले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियामा सम्बन्धीत मन्त्री समेतको मिलोमतोको बिषय आएकाले छानविन गर्न माग गरेका हुन् ।
जगदुल्लाहको आर्थिक प्रस्ताव गर्दा ऊर्जा मन्त्रालयका मन्त्री र जगदुल्लाहका प्रमुखको मिलोमतो भएको उनले बताए ।
सांसद मोदीले जगदुल्लाको ठेक्का प्रक्रियाबारे सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियारमा समेत उजुरी पर्दा पनि सरकारको ध्यान जान नसकेकाले छानविन हुनुपर्ने उल्लेख गरे ।
सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी लिमिटेडको सहायक कम्पनी जगदुल्ला हाइड्रोपावर लिमिटेडको ठेक्का प्रक्रियाबिरुद्ध परेको रिटमा उच्च अदालत पाटनले समेत कम्पनीलाई कारण देखाउ आदेश जारी गरिसकेको छ ।