काठमाडौँ – प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति अन्तर्गतको पोखरा अन्तराष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिका संयोजक राजेन्द्र लिङदेनले तथ्यका आधारमा प्रतिवेदन तयार गरिएको बताएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा आइतबार बसेको लेखा समिति बैठकमा उपसमितिको प्रतिवेदनमाथि केहि सांसदहरुले प्रश्न उठाएपछि लिङदेनले स्थगलत अध्ययनका साथै सरोकारवालासंग छलफल गरेर प्रतिवेदन बनाएको बताए । उनले पोखरा अन्तराष्ट्रिय विमानस्थलको अध्ययनका क्रममा विज्ञहरुसंग परामर्श समेत गरेको जानकारी दिए । हचुवाका भरमा प्रतिवेदन बनाइएको भन्दै भ्रम नराख्न उनले आग्रह गरे ।


ADVERTISEMENT

# # #


बैठकमा केही सांसदहरुले उपसमितिको प्रतिवेदनका आधारमा कारवाही सिफारिस गर्नुपर्ने धारणा राखेका थिए भने केहीले थप अध्ययनको आवश्यकता रहेको बताएका थिए ।

सांसद प्रेम आलेले विज्ञहरु र सरोकारवालासंग छलफल गरेर प्रतिवेदन बनाएको प्रति धन्यवाद दिनुपर्नेमा उल्टो प्रश्न उठाउनु उचित नभएको बताए । १४ अर्वको ठेक्कालाई २२ अर्व पुर्याउनु भ्रष्टाचार नै भएको उनले बताए ।

त्यस्तै सांसद अमनलाल मोदीले विमानस्थल निर्माणमा त्रुटी भएको महसुस भएकाले नै समितिले अध्ययन गर्न उपसमिति बनाएकाले उपसमितिको प्रतिवेदनलाई गम्भीर रुपमा लिनुपर्ने धारणा राखे ।

त्यस्तै सांसद योगेश भट्टराईले पोखरा विमानस्थलको प्रतिवेदन प्रश्नको घेरामा रहेको बताए । प्रश्नको घेरामा रहेका व्यक्ति नै उपसमितिमा रहेकाले स्वार्थको द्वन्द्व देखिएको उनको भनाइ छ । उनले स्वार्थको द्वन्द्व भएका प्रतिवेदनहरु समितिमा प्रस्तुत भएको जिकिर गरे ।

समितिमा उपसमितिको प्रतिवेदन सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ । अवको बैठकमा उपसमितिको प्रतिवेदनमाथि छलफल हुने सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । प्रतिवेदनमा उक्त विमानस्थल निर्माण गर्दा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमितता र भ्रष्टचार भएको उल्लेख गरिएको छ भने निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको औल्याइएको छ ।