नेपालगञ्ज– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
उनले सिकलसेल र थालेसिमियाका बिरामीलाई सङ्क्रमक रोगबाट जोगाउन भारत सरकारबाट प्राप्त खोप आज नेपालगञ्जस्थित भेरी अस्पताललाई हस्तान्तरण गर्दै पछिल्लो समयमा नेपालका सबैजसो सरकारी अस्पतालको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार भइरहेको बताए ।
मन्त्री पौडेलले भने “अस्पताललाई अझै बढी सुधार गरेर लैजानुपर्ने आवश्यक्ता छ ।” भेरी अस्पतालबाट मुटु, मिर्गौला प्रत्यारोपण र जलनको उपचारका लागि स्थायी दरबन्दी स्वीकृत गरेर व्यवस्थित गराउन खोजिएको जानकारी दिँदै उनले भेरी विशिष्टकृत अस्पतालका रूपमा विकास हुन थालेकामा खुसी व्यक्त गरे ।
सरकारी अस्पतालका बारेमा विभिन्न प्रकारका नकारात्मक टिप्पणी सुनिने गरिएको बताउँदै मन्त्री पौडेलले त्यस्ता टिप्पणीरहित सेवा प्रदान गर्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिए । उनले सरकारले अस्पतालका भौतिक पूर्वाधार र जनशक्ति बढाउने विषयलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै सीमित बजेट र साधनस्रोतका कारण चाहेर पनि धेरै काम गर्न सक्ने अवस्था नरहेको बताए ।
उनले स्वास्थ्य बिमालाई व्यवस्थित गरेर सबैलाई निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य उपचार प्रदान गर्नेतर्फ सरकार गम्भीर भएकामा जोड दिँदै त्यसमा सरोकार भएका र स्वास्थ्यसम्बन्धी निकायको पनि सहयोग आवश्यक पर्ने आवश्यकता औँल्याए ।
मन्त्री पौडेलले भेरी अस्पतालमा सिकलसेलको छुट्टै उपचार कक्ष सञ्चालन गरिएपछि सहज भएको बताउँदै सो रोगबाट जोगाउन समुदायमा जनचेतना फैलाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।
स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले मन्त्रालयले आफ्नो क्षमता अनुसार अस्पतालका माग र आवश्यकता पूरा गर्ने हरसम्भव प्रयास गरिरहेको बताए । अस्पतालका मेडिकल सुपरिटेण्टेण्ट डा निराजन सुवेदीले पछिल्लो चार महिनामा अस्पतालमा भएका सुधार र उपलब्धिका बारेमा जानकारी दिए ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अस्पतालका वरिष्ठ नर्सिङ प्रशासक आशा पण्डित र अस्पताल विकास समितिका सदस्य डा डक्टप्रसाद धितालले पनि अस्पतालको अवस्थाबारे आ–आफ्नो धारणा राखेका थिए ।
मन्त्री पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा देवकोटोले भारतबाट प्राप्त भएको खोपलाई संयुक्त रूपमा भेरी अस्पतालका प्रमुख डा निराजन सुवेदी र सिकलसेल एनिमिया सोसाइटी नेपालका महासचिव राजमोहन चौधरीलाई हस्तान्तरण गरे ।
मन्त्री पौडेलले भेरी अस्पतालमा सञ्चालनमा ल्याइएको जलन उपचार कक्ष र ‘सर्जिकलविङ्ग’को पनि उद्घाटन गरे । साथै उनले अस्पतालका विभिन्न विभाग र कक्षमा पुगेर निरीक्षण गर्नुका साथै बिरामीलाई भेटेर उपचारको अवस्थाबारे जानकारी लिएका थिए ।
भेरी अस्पतालको नयाँ भवनमा सञ्चालनमा आएको छ शय्याको जलन उपचार कक्ष र १४ शय्याको सर्जिकलविङ्गबाट यस क्षेत्रका अग्निपीडित बिरामीको उपचारमा सघाउ पुग्ने अस्पताल विकास समितिले विश्वास लिएको छ । रासस