काठमाडौँ — भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी छात्रा प्रिसा साहको मृत्यु प्रकरणले राष्ट्रिय सभामा गम्भीर चासो उत्पन्न गराएको छ।
छात्रावासको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी प्रिसाको मृत्युलाई रहस्यमय मान्दै संसद्ले नेपाल सरकारलाई घटनाको सत्यतथ्य छानबिन गर्न निर्देशन दिएको हो।
सांसदहरूले उक्त विषय आकस्मिक तथा शून्य समयमा उठाएका थिए, जसपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले संसदकै तर्फबाट सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले एकै कलेजमा पटक–पटक समान प्रकृतिका घटनाहरू घटिरहनु अत्यन्त चिन्ताजनक भएको बताए।
‘यस्ता घटना दोहोरिन नदिन नेपाल र भारत दुवै सरकारले चासो दिनुपर्छ’ अध्यक्ष दाहालले भने, ‘घटनाको कारण गहिरो तहसम्म पुगेर खोजी गर्न र पीडित छात्रालाई न्याय दिलाउन निष्पक्ष छानबिन आवश्यक छ।’
संसद्ले नेपाली विद्यार्थीले विदेशमा सुरक्षित, सम्मानजनक र निर्भीक वातावरणमा पढ्न पाउने अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ। साथै, भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन ठोस पहल गर्नुपर्ने माग पनि संसदबाट उठाइएको छ।
सरकारले यो घटनालाई प्राथमिकताका साथ लिएर छिटो छानबिन प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।