दमौली (तनहुँ) – यहाँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सेती नदीमा निर्माणाधीन एक सय ५० मिटर लम्बाइको पुल चार वर्षमा आधा मात्रै निर्माण भएको छ ।
हालसम्म जम्मा ५२ दशमलव १८ प्रतिशत मात्र भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । उक्त पुल निर्माण गर्न विसं २०७७ पुस ५ गते सम्झौता भएको सो कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए । विसं २०८० जेठ २५ गतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि काम नसकिएपछि अन्तिम पटकका लागि विसं २०८२ मङ्सिर २० गतेसम्मको म्याद थप गरिएको उनले बताए।
पुल निर्माणका लागि रु १५ करोड ५९ लाख १७ हजार छ सय ९९ मा एमएस महादेव खिम्ती अन्जनय पराजुली जेभीले ठेक्का लिएको थियो । उक्त पुल निर्माणमा हालसम्म रु आठ करोड १३ लाख ६२ हजार पाँच सय ३३ खर्च भएको तिवारीले जानकारी दिए ।
चालु आर्थिक वर्षमा जिल्लामा नौ वटा सडक पुल निर्माणाधीन छन् । त्यसमध्ये चार वटा पुराना र पाँच वटा नयाँ छन् । विस्तृत अध्ययन तयार भएको र अन्य बाँकी सडक पुल सङ्ख्या २३ वटा छन् । चार वटा सडकपुल मौलाकाली जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा छ भने बाँकी १९ वटा पुल कार्यान्वयनमा लैजान सक्ने अवस्थामा रहेको तिवारीले बताए ।
पाँच झोलुङ्गे पुल निर्माण हुने
जिल्लामा चालु आवमा पाँच वटा झोलुङ्गे पुल निर्माण हुने भएको छ । त्यसमध्ये तीन वटा पुलको विस्तृत अध्ययन पुरा भएको छ भने दुई वटा पुलको अध्ययन हुन बाँकी छ ।
भिमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पस अल्छीचौतारा झोलुङ्गे पुलका लागि रु ३२ लाख ३८ हजार, शुक्लागण्डकीस्थित बाङ्गेरह झोलुङ्गे पुलका लागि रु १८ लाख ४२ हजार, भिमाद नगरपालिका–५ फेदीखोला रबरबोटे लदन आमडाँडा झोलुङ्गे पुलका लागि रु २७ लाख ५७ हजार, शुक्लागण्डकी नगरपालिका–१० बुन्चासस्थित क्याङ्दी खोलामा झोलुङ्गे पुलका लागि रु २० लाख र भानु नगरपालिकास्थित रु भैरदवल गण हात्तीचौर झोलुङ्गे पुलका लागि रु २० लाख विनियोजन भएको कार्यालयले जनाएको छ ।