काठमाडाैँ – नेपाल प्रहरीको बार्षिक रुपमा हुने प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) अन्तर्गत यस वर्षको अनुगमन निरीक्षण सम्बन्धी गठित समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक श्री सन्दीप भण्डारी, प्रहरी नायब महानिरीक्षक यज्ञ विनोद पोखरेल समेतका बिभिन्न बिभागका २४ जना प्रहरी अधिकारीहरुको टोलीले कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत र मातहतका कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल ने.ग.), नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश सुर्खेत (हाल ने.ग.), कर्णाली प्रदेश प्रहरी गण सुर्खेत, जिल्ला प्रहरी कार्यालय जाजरकोट, ईलाका प्रहरी कार्यालय छिन्चु, सुर्खेत र प्रहरी चौकी तल्लो डुङगेश्चर, दैलेखमा सुक्ष्म रुपमा अनुगमन निरीक्षण गरेका छन् ।
वर्षेनी प्रहरी प्रधान कार्यालयबाट गरिने यस प्रकारको निरीक्षणबाट देशभरीमै सर्वोउत्कृष्ठ हुने प्रहरी कार्यालयहरुलाई प्रहरी दिवस (Police Day) को दिन पुरस्कृत गर्ने गरिएको छ । यो निरीक्षण मूल्याङ्कनमा समग्र कार्यालयको सरसफाई, भौतिक संरचना निर्माण तथा संस्थागत सुधार, कार्यालय व्यवस्थापन, प्रहरीले गरेका गतिविधी एवम उपलब्धीहरु, सिर्जनात्मक एवम् नवप्रवर्द्धनात्मक कार्यहरु, प्रहरीप्रति जनताको धारणा, शान्ती सुरक्षा र अपराध अनुसन्धानसँग सम्बन्धित गतिविधी लगायका विषयमा विस्तृत र सुक्ष्म रुपमा अध्ययन मुल्याङ्कन गरी स्वच्छ प्रतिस्पर्धाबाट सर्वोउत्कृष्ठ हुने प्रदेश प्रहरी कार्यालय प्रमुख र सर्वोउत्कृष्ठ हुने कुनै एक प्रहरी कार्यालयलाई निकट भविष्यमा आउँदै गरेको प्रहरी दिवस (Police Day) को दिन (Police Baton) प्रदान गरी पुरस्कृत गर्ने परम्परा रही आएको जनाइएकाे छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले आफ्नो मातहतका सम्पुर्ण कार्यालयहरुको विभिन्न समयमा स्थलगत अनुगमन तथा निरीक्षण गरी सो मध्येबाट उत्कृष्ठ ठानिएका प्रहरी इकाईहरुलाई यो केन्द्रीय निरीक्षण (नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन) कार्यक्रममा सहभागी गराएको हो ।
यही मिति २०८० आश्विन ३, ४ र ५ गते गते कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत तथा मातहत कार्यालयहरुको निरीक्षण अनुगमन भएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयको तर्फबाट प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालले करिब १ घण्टाको PowerPoint प्रस्तुतीकरण गरेका थिए भने नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतको टोलीले House Clearing Drill अन्तर्गत Room Intervention Demonstration समेत प्रदर्शन गरेकाे थियो ।