– रोशन अधिकारी
विषम परिस्थितीमा कत्ति पनि विचलित नभई, आफ्नो जिउ ज्यानको परवाह नगरी दिनरात विशुद्ध हृदयले स्वास्थ्यकर्मीहरु सेवारत छन् । उनीहरुलाई प्रोत्साहन नगरी अपहेलना र सामाजिक बहिष्कार गर्नाले स्वास्थ्यकर्मीको मनोबल गिर्छ । उनीहरु दुःखी भएका हुन्छन् । यस्तै रह्यो भने केही समयमा स्वास्थ्यकर्मीको कमी मात्र होइन, नहुने अवस्था आउन सक्छ ।
डाक्टर नेपालमै खुसीसाथ बस्ने कुनै आधार छैन । हरेक वर्ष २-३ हजारको संख्यामा डाक्टरहरु विदेश जाँदै छन् र यो क्रम बढ्दैछ। देशको विभिन्न स्थानहरुमा शृङ्खलाबद्ध रूपमा डाक्टरहरुमाथि हातपात र अस्पताल तोडफोडको घटना बढिरहेको देखिएको छ। डाक्टरहरु भन्नुहुन्छ, ‘यस्तो बारम्बार सधैं जसो हुँदा कहिले काही नेपालमा बसेर गल्ती गरेको छु कि भनेर लाग्छ। यहाँ न पैसा नै छ, न इज्जत नै। दिनहुँ पिटाई खाने डर।’
चिकित्सकहरुले शतप्रतिशत जीवन रक्षा गर्छन् भन्ने हुँदैन । उनीहरुले शतप्रतिशतजीवन रक्षा गर्ने कोसिस मात्र गर्ने हो । आजकल अस्पतालमा घटना हेर्दा बिरामी मर्दा परिवारले गर्ने आक्रोशको प्रतिक्रिया जस्तो हुन्छ र ? त्यो त आतंककारीहरुले गर्ने आतंकजस्तो छ, संगठित आतंकीकारी हमला । जसको पनि ज्यान जान सक्छ।
नबुझेको कुरा, जबसम्म कुनै दल, कुनै गुठको समर्थन हुँदैन, यत्रो हुल अनि यत्रो हिम्मत कसरी आउछ ? पर्खाल भत्कायो, टोडफोड गर्यो, जे पायो उसैले प्रहार गर्यो ! यो त अत्ति भएन र? अनि प्रशासन र सुरक्षा निकाय चाही के गर्दै छ ?
अन्त्यमा उही हो ७२ घन्टे अल्टिमेटम, एक दिन ओपीडी बन्द अनि छेऊ न टुप्पोको सहमति । कहिलेसम्म यस्तो सहमति ? अस्पताललाई पनि शान्तिपूर्ण क्षेत्र घोषित गर्न मिल्दैन र ? सहमतिमा आगामी दिनमा ज्यानको सुरक्षा सरकारले गर्ने निर्णय गर्न मिल्दैन र ? कहिलेसम्म मनमा डर लिएर बिरामीको उपचारमा लाग्ने ?
युद्धमा गएको सिपाहीजस्तै अस्पताल ड्युटीमा गएका सम्पूर्ण चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने सम्पूर्ण कर्मचारी फर्किने बेला शकुसल फर्कने हो, होइन अत्तोपत्तो छैन । एस्तै रह्यो भने न स्वास्थ्यकर्मी उत्पादन हुन्छन् न भएकाहरू नेपालमा रहन्छन् । अनि हुनेछ नेपालमा स्वास्थ्य क्रान्ति, अनि पाउनेछन् नेपाली ले नेपालमा स्वास्थ्य उपचार । मान्यजन, वरिष्ठ, धनी व्यक्तित्वहरू त विदेश गएर उपचार गर्लान तर गरीबहरु कहाँ उपचार गर्ने ?
सम्पूर्ण चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने सम्पूर्ण कर्मचारी जीवनको प्रवाह नगरी बिरामीको उपचारमा खटिरहेका छन् । हामी सबै मिलेर उनीहरूको हौसला बढाउन मदत गर्नुपर्छ । उनीहरूको साहसको सम्मान र मूल्यांकन गर्न जान्नुपर्छ ।
सम्पूर्ण स्वास्थ्यकर्मी को सम्मान गरौं । अस्पताललाई अमानवीय व्यवहार नगरौँ । जीवन रक्षा गर्ने सम्पूर्ण व्यक्तिहरुलाई सधैँ आदार गरौं ।
(लेखक अस्पताल व्यवस्थापक हुन् ।)