काठमाडौँ— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने दलको नाताले कांग्रेसले देश सङ्कटमा छ भन्न नसुहाउने टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले नेतृत्व गर्ने अनि देश सङ्कटमा छ भन्ने ? भन्दै देश सङ्कटमा नभई कांग्रेसको जिम्मामा भएको बताए ।
थापाले भने ‘देश संकटमुक्त कहिले हुन्छ ? हाम्रो नेतृत्वमा संविधान बनायौ, हामी सबैभन्दा ठूलो दल भएका छौँ, ३३२ पालिका, सात प्रदेशमा हामी, मुख्यमन्त्री हाम्रो, प्रधानमन्त्री हाम्रो सबै हाम्रो हातमा हुने अनि हामीले देश सङ्कटमा छ भन्ने देश सङ्कटमा छैन्, हाम्रो जिम्मामा छ ।’
त्यस्तै उनले संघीयताको संरक्षणका लागि पार्टीले भूमिका खेल्नु पर्ने बताएका छन्। कांग्रेसले नै संघीयता संरक्षणको नेतृत्व गर्नु पर्ने उनको भनाई छ । ‘हामीलाई यो पाँच वर्षमा जनताकै तहबाट संघीयता चाहिन्छ भन्ने अवस्थामा पुर्याउनु छ । हामीले ध्यान दिनु पर्दैन । हामी नैतिक पक्ष रहेर शासनले पाएको जिम्मेवारी पूरा गरिम भने कुनै कुराले हामीलाई तल माथि गर्न सक्दैन । सबै कुराहरूबाट माथि उठ्न सक्ने ताकत नेपाली काङ्ग्रेस भित्रै छ,’ थापाले भने ।
त्यस्तै उनले शिक्षा विधेयक मार्फत सार्वजनिक शिक्षाको अवस्था सुधारमा लागि काम गर्नु पर्ने बताए । ‘हामीले संसद्मा शिक्षा विधेयक दर्ता गरेका छौ, त्यसमा मुख्य कुरा भनेको सार्वजनिक शिक्षाको अवस्था सुधार गर्नुपर्ने कुरा हो,’ थापाले भने ‘यो सम्बन्धमा शिक्षकको आत्मसम्मान नभईकन, पेशा मर्यादित नभइकन, शिक्षकलाई सन्तुष्ट नबनाईकन शिक्षा राम्रो हुँदैन । शिक्षकसँग सरकारले सम्झौता गरेको छ त्यो राम्रो हो तर एउटा कुरामा छलफल गर्नुपर्छ शिक्षक र पार्टीको सम्बन्ध के हो ।’
उनले कानूनले शिक्षक राजनीतिज्ञ हुन पाउँदैन भनेर प्रष्ट भनेको भन्दै पेशा छोडेर राजनीति गर्छु भन्नेलाई ठाउँ दिनु पर्ने उनको तर्क छ । ‘कानूनले स्पष्ट भन्छ शिक्षक राजनीतिज्ञ हुन पाउँदैन भनेर, हामी प्रष्ट हुनुपर्छ । तर शिक्षकहरू आफ्नो पेशा छोडेर राजनीतिमा आउने कुरा गर्छ भने हामीले त्यो ढोका खोल्नु पर्छ । यो विषयमा शिक्षकहरू र पार्टी दुवैजनाले स्पष्ट धारणा राख्नु पर्छ । शिक्षक पार्टीको सदस्य भएर आउँन चाहनुहुन्छ भने पार्टीले त्यसमा पहल गर्नुपर्छ, ’ थापाले भने ।