काठमाडौं-शितलहरले जनजीवन अत्यन्तै कष्टकर रहेको सप्तरीमा पछिल्लो समयमा शरीर न्यानो पार्न बालिएको आगोमा जलेर लाखौंको धनमाल क्षति भएको छ । चार दिन यता जिल्लाका तीन ठाउँमा भएको आगलागीबाट एक दर्जन घर जलेर खरानी भएका छन् । आगो ताप्दा जलेर चार जना घाइते समेत भएका छन् ।


ADVERTISEMENT


पछिल्लो पटक रुपनी गाउँपालिका १ मा भएको आगलागीबाट तीन दाजुभाइको ६ वटा घर जलेको छ । शुक्रबार राति भएको आगलागीबाट स्थानीय राजो यादव, रामनारायण यादव र रामविलास यादवको घर जलेको छ । उनीहरुको दुई/दुई वटा घर जलेको हो ।


ADVERTISEMENT

# # #


गोठमा बालिएको घुरबाट राति १२ बजेतिर अचानक आगलागी भएको हो । आगलागीले राजोले घरमा राखेको नगद ७५ हजार रुपैयाँ समेत जलेको छ । आगलागीले ६ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको पीडितको भनाइ छ । आगोलाई राजविराज नगरपालिकाबाट गएको बारुण यन्त्र र स्थानीयहरुले निभाएका थिए ।

शुक्रबार राति नै बेल्ही चपेना गाउँपालिका ३ नर्घोमा समेत आगलागी भएको छ । आगलागीबाट एक घर र एक गोठ जलेको छ । बेल्ही चपेना ३ नर्घो निवासी ठकाई साहको घरमा आगलागी भएको हो । गोठमा बालिएको घुरबाट सल्केको आगोले गोठसहित उनका एक घर समेत जल्दा दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यसअघि बुधवार राति डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडामा आगलागी भएको थियो । आगलागीबाट गंगाराम पंडित र सियाराम पंडितका एकरएक घर जलेर नष्ट भएका थिए ।

जलेर चार जना घाइते

शरीरलाई न्यानो पार्न आगो ताप्ने क्रममा व्यक्तिहरु घाइतेसमेत भएका छन् । सिरहामा पछिल्लो हप्ता चार जना महिला आगो ताप्ने क्रममा घाइते भएका छन् । बुधबार आगोमा जलेर सिरहा नगरपालिका ४ निवासी ३० वर्षीया ममतादेवी मण्डल घाइते भइन् । जाडो छल्न घरमै बालिएको आगो ताप्ने क्रममा आगोले पोल्दा मण्डल घाइते भएको स्थानीयबासीले बताएका छन् ।

सोमवार मात्रै आगो ताप्ने क्रममा जलेर सिरहा नगरपालिका ७ निवासी ४७ वर्षीया जिवछी महरा र कल्याणपुर नगरपालिका निवासी २३ वर्षीया सिपीदेवी यादव घाइते भएकी थिइन् । त्यस्तै गत आइतवार सिरहाको चतरी २ निवासी ३७ वर्षीया साबित्रीदेवी मण्डल आगो ताप्ने क्रममा जलेर गम्भीर घाइते भएकी थिइन् ।

घाइते चारै जनाको सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा उपचार गरिएको छ ।