केही समयअघि निर्वाचनमा  राष्ट्रिय जनता पार्टी (राजपा)को अवस्था के होला ? वामगठबन्धनले राजपालाई २ नं प्रदेशमा कत्तिको असर पुर्याउला ? फोरमसंगको गठबन्धनमा उसलाई कती फाइदा होला भन्ने कौतुहलता सबैमा थियो । तर यसको परिणाम सकारात्मक आयो । प्रतिनिधिसभातर्फ मधेशी जनताले राजपामाथि थ्रेसहोल्डको चुनौतिलाई सहजै पार लगाइदिएका छन् । प्रदेशमा पनि समाजवादी फोरमसंगको सहकार्यले गर्दा उसले प्रदेश नं २ मा सरकारको नेतृत्व गर्ने पक्का भएको छ । जित हासिल गरिसकेपछि चुनावअघि जनतालाई दिएका आश्वासन राजपाले कसरी पूरा गर्छ ? संघीय संसदमा राजपाको हैसियत के हुन्छ ? अबको पाँच वर्ष राजपाको यात्रा कसरी अगाडी बढ्छ ? लगायतका प्रश्नको जवाफ खोज्न हिमालय पोष्टले राजपाका सह-महामन्त्री डा. सुरेन्द्र झासंग कुराकानी गरेको छ ।


ADVERTISEMENT


प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा प्रदेश नं २ मा राजपाले राम्रो मत पाएको छ । यसलाई कसरी लिनुभएको छ ?


ADVERTISEMENT

# # #


हामी खासगरी परिवर्तनकारी संघर्षशील शक्ति हौँ । मधेशी गठबन्धनका नामबाट हामीले तीनवटा जनविद्रोह गर्यौँ । हाम्रो संघर्षले मुलूकमा दुईवटा कुरा स्थापित भएको छ । एउटा समानुपातिक समावेशीता र अर्को संघियता । अहिले आएर हामीले के भनेका छौँ भने विकृत अवस्थामा भएपनि यी कुराहरु प्राप्त गरेका छौँ । जनताको माझ हामीले प्रदेश नं. २ का जिल्ला हाम्रो आधार भूमी हो, टेक्ने ठाउँ हो भनेका थियौँ । अब हामीले २२ जिल्लाको मधेश निर्माण गर्नुछ । त्यसैले रगतको आहाल बगाएर पाएको यो आठ जिल्लामा कमसेकम मधेशी गठबन्धनको सरकार निर्माण गर्ने अवसर दिनुस् भनेर हामी जनतामाझ गएका थियौँ । यही भूमीमा टेकेर २२ जिल्लाको मधेश बनाउने कुरामा हामी फेरि संघर्षरत रहने नै छौँ ।

भनेपछि, तपाई संविधान संशोधनका लागि फेरि लड्नुहुन्छ ?
हो, हाम्रो कतिपय माग पूरा भएका छैनन् । तिनको प्राप्तीका लागि फेरि पनि हामी संघर्षमा नै हुन्छौँ ।

के हुन् त तपाईहरुका खास माग ?

यसमा केही खास कुराहरु छन् । जस्तो कि सिमाङ्कनलाई पुर्नविचार गर्ने, स्थानीय तहको पुर्नसंरचना समान जनसंख्याको आधारमा गरिनुपर्ने, स्थानीय तहलाई प्रदेश माताहतमा ल्याउनुपर्ने, त्यस्तै नागरिकताको सवाल छ । राज्यका सम्पूर्ण अङ्गमा समावेशी सहभागितालाई कार्यान्वयन गर्नुपर्ने, नागरिक समानताको विषयहरु नै हाम्रो मुद्दा हुन् । यिनीहरुलाई हामी अगाडी बढाउँछौँ । त्यही अनुरुप जनताले हामीलाई मत दिनुभएको छ । अब हाम्रो प्रथम दायित्व के हो भने प्रदेश नं २ मा सरकार निर्माण गर्ने, त्यसका लागि हामीले गठबन्धनको राजनीति अगाडी बढाएका छौँ । संघीय समाजवादी फोरमले बढी सिट ल्याएको छ । अब तुरुन्तै बैठक बसेर हामी अगाडी जान्छौँ ।

मधेशवाद र मधेश आन्दोलनसंग जोडिएकाहरुलाई हामी विशेष प्राथमिकतामा राख्छौँ र मधेशमा मधेशी सभ्यता र भाषा संस्कृतिको जगेर्ना गर्दै विकास र समुन्नतीको बाटोमा हामी जान्छौँ । यो पाँच वर्षमा हामीले केही गरेर देखाउनुपर्छ भन्ने अभिभारा हामीमा आएको छ । यदी यहाँ हामीले राम्रोसंग काम गर्न सक्यौँ भने यसको प्रभाव अन्य प्रदेशमा पनि पर्ने हुँदा यसलाई हामीले एउटा चुनौतिका रुपमा लिएका छौँ । यसका लागि मधेशी गठबन्धनको बैठक दुई तीनदिन मै बस्छ । अर्को कुरा भनेको २ नं प्रदेशमा ५२ लाख जनसंख्या छ । तर राष्ट्रिय सभामा जम्मा ८ जना मान्छे मात्र जान्छन् । अन्य प्रदेशबाट पनि आठै जना मान्छे जान्छन् । यस्तो विभेदहरुसंग हामीले जुध्नु पर्ने छ । त्यसैले जनताको मतादेशलाई लिएर केन्द्रमा हामी शसक्त प्रतिक्षको भूमिका निर्वाह गर्दै अगाडी बढ्छौँ । निर्वाचनलाई पनि हामीले एउटा संघर्षको पाटोको रुपमा लिएका थियौँ ।

निर्वाचनको बेलामा प्रदेश नं २ का जनतालाई तपाईहरुले जुन किसिमका आश्वासन वा प्रतिवद्धता देखाउनु भएको थियो । तिनीहरुलाई कसरी पूरा गर्नुहुन्छ ? किनकी मधेशमा पनि गरिबीदेखि लिएर बेरोजगारी, शिक्षा, स्वास्थ्य लगायतका धेरै समस्याहरु छन् । तिनको समाधान गर्नका लागि तपाईसंग कस्ता गुरु योजना हरेका छन् ?

मधेशी जनताले यो कुरा राम्रोसंग बुझेको छ । २५० वर्षदेखि जसले हामीलाई शासन गरे । उहाँहरुको शासनको परिणाम के हो भने ती ८ ओटा जिल्ला सुगुम ठाउँमा भएपनि विकास नहुनु हो । महोत्तरी जिल्लामा सबैभन्दा गरिबी छ । रौतहट शिक्षामा सबैभन्दा पछाडी परेको जिल्ला हो । त्यस्तै सिरहा, सप्तरीको अवस्था पनि दयनीय नै छ ।  यो चुनौति मात्रै नभएर अवसर पनि हो । सुगम ठाउँमा भएपनि २ नं प्रदेश हरेक क्षेत्रमा पछाडी परेको छ ।

सबैभन्दा पहिलो काम त आफ्नो पहिचान, संस्कुति, भाषा, भेषभूषाका लागि हामीले लडेको आन्दोलनको महत्व झल्काउने गरी काम गछौँ । पहिलो काम हामी शिक्षा एकदमै प्राथमिकता दिएर काम गर्छौँ । आर्थिक समृद्धि हाम्रो दोस्रो प्राथमिकतामा रहेको छ । सामाजिक सुरक्षाका प्रत्याभूति हामीले जनतालाई दिनुपर्छ । २ नं प्रदेशलाई विकशित बनाउनका लागि त्यहाँको वनजंगल, उर्वर भूमी लगायतका अन्य स्रोत साधनको वैज्ञानिक ढंगले परिचालन गर्दै अगाडी बढ्नुपर्छ । प्रदेश नं २ शिक्षामा एकदमै पछाडी छ । त्यसलाई माथि उकास्नका लागि हामी काम गर्छौ । त्यस्तै युवा बेरोजगारी समस्या व्याप्त छ । त्यसको लागि पनि काम गर्नु पर्नेछ । यस्तै अन्य कामहरु पनि छन् ।  समग्र राजनीतिक दलहरुको बीचमा एउटा साझा समझदारी हुन जरुरी छ । नेपाललाई नमूना देशको रुपमा परिचित गर्ने यो एउटा अवसर पनि हो ।

अहिले कैलालीमा रमेश चौधरीले जुन किसिमले विजय हासिल गरे । यसमा तपाईको धारण के हो ?

मधेशी जनताले अहिले सम्बैधानिक अधिकार सुनिश्चितताको लागि मतदान गर्नुभएको छ । रेशम चौधरीले अहिले जुन मत पाउनुभएको छ । त्यो त्यहाँका जनताले गरेको संघर्ष जायज थियो र त्यसलाई राज्यले गरेको बर्बतापूर्ण दमन नाजायज थियो भन्ने कुरालाई यो मतले पुष्टि गरेको छ । त्यसैले राजनीतिक तथा सम्बैधानिक अधिकारको सुनिश्चितताका लागि संघर्ष गर्नैपर्ने हाम्रो बाध्यता बनेको छ ।

तपाईहरु कुनै एउटा भूगोल विशेषको प्रतिनिधित्व गरिरहनु भएको छ । अबका निर्वाचनमा सबैठाउँमा सहभागिता जनाउनुहुन्छ कि फेरि पनि मधेश केन्द्रित राजनीतिक दलमै सिमित हुनुहुन्छ ?

देशमा हामी अहिले चौथो शक्ति भएका छौँ । पार्टी खोलेको धेरै भएको छैन । यति छोटो समयमा जनताले हामीलाई लोकतान्त्रिक शक्ति भनेर जुन किसिमले विश्वास गर्नु भएको छ । त्यसको लागि आम जनतालाई धन्यवाद दिनैपर्छ । संगसंगै हामीमाथि अभिभारा पनि छ । अहिले हामी चौथो ठूलो शक्ति भएका छौँ । एउटा प्रदेशमा सरकार निर्माण गने अवसर पनि हामीले पाएका छौँ । यो पाँच वर्षको अन्तरालमा हामीले काम गरेर देखाउनुपर्छ । हिमाल, पहाड र मधेशमा बस्ने सम्पूर्ण जनतालाई हामीले यो देशको लोकतान्त्रिक शक्तिमध्ये राजपा एक विश्वासिलो शक्ति हो भनेर विश्वास दिलाउन सक्नुपर्छ । यही अनुसार हामी अडाढी बढ्छौँ । आउने जुनसुकै निर्वाचनमा राजपालाई हामी मुलूकको एउटा ठूलो शक्ति भनेर हिमाल पहाड र तराईमा चिनिन्छौँ ।

अहिले सरकार निर्माणको कुरा गरिरहँदा तराईमा सितलहरले जनजीवन प्रभावित भइरहेको छ । हिउँदको समयमा सितलहर र वर्खाको समयमा बाढीले तराईमो कयौँ जनताले ज्यान गुमाइरहेका छन् । यसको समाधान कसरी हुनसक्छ ?

हाम्रो घोषणापत्रमा १५ ओटा प्रतिवद्धता जाहेर गरेका छौँ । त्यसमा पहिलो भनेको बाढीको दिर्घकालीन निकासका लागि हामी कार्य योजना लिएर आउँछौँ भनेका छौँ । अहिले शितलहरले गर्दा जनताको बेहाल भएको छ । अहिले कम्तीमा ५० लाख जनता शितलहरले एकदमै प्रभावित भएका छन् । तर दुखद नै भन्नुपर्छ, राज्य शंयन्त्र उदासिन देखिन्छ । त्यसलाई सम्बोधन गर्नका लागि राज्यले कुनै प्रकारको काम गरेको देखिँदैन । म तपाई मार्फत आग्रह गर्न चाहन्छु कि देशभित्र तपाईकै जनता शितलहरले कठ्याङ्ग्रएर मर्नु पर्ने बाध्यतामा छन् । यस्तो अवस्थामा सरकारले मधेशको लागि एउटा स्पेशल प्याकेजको घोषणा गर्नुपर्छ । न्यानो लत्ता कपडा, खाद्यान्न बाड्नुपर्यो । पार्टीको तर्फबाटठ पनि हामी जनताको माझमा गएर के गर्न सक्छौँ भन्ने कुराको लागि तुरुन्तै छलफलमा लाग्छौँ ।

अन्त्यमा के भन्नुहुन्छ ?
हामीलाई जनताले जुन किसिमको आशा गरेर मत दिएका छन्, त्यसलाई हामी खेर जान दिँदैनौँ । धेरैले भन्ने गरेका थिए कि नेपालमा चुनाव हुँदैन भनेर । तर समयमा नै तीनै तहको निर्वाचन सम्पन्न भएको छ । जनतालाई निराश हुन नदिनु हाम्रो पनि कर्तव्य हो । जनताको भावना र अपेक्षामा खरो उत्रिनुपर्छ । जनताको हितलाई ध्यानमा राखेर सबै दलहरुसंग सहकार्य गर्नका लागि राजपा अग्रसर हुन्छ ।