काठमाडौँ – करिब दुई महिनादेखि नेपाली क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान)बीचको विवाद अन्ततः समाधान भएको छ । असन्तुष्ट चार खेलाडी र क्यान पदाधिकारीबीच आइतबार सहमति भएसँगै नेपाली क्रिकेटको विवाद अन्त्य भएको हो ।
सहमति अनुसार क्यानले ६ महिना ‘सेन्ट्रल कन्ट्रयाक्ट’ बाट हटाउने (तलब नदिने)गरी खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिने भएको छ । तर, ज्ञानेन्द्र मल्ललाई क्रिकेट टिमको कप्तानबाट हटाउने निर्णय भने यथावत रहने भएको बताइएको छ । यससँगै क्यान र खेलाडी विवादपछि नियुक्त भएका सन्दीप लामिछाने नेपाली टिमको कप्तान नै रहने भएका छन् ।
आगामी फेब्रुअरी दोस्रो साता ओमानमा टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि क्यानले शुक्रबार साँझ ३० जना खेलाडीलाई प्रशिक्षणका लागि बोलाएको थियो। आज (आइतबार)देखि काठमाडौँँमा सुरु हुने भनिएको बन्द प्रशिक्षणका लागि कारबाहीमा परेका चारसहित १२ जना खेलाडी रिपोर्ट गर्न नगइ विरोध गरेका थिए । जसका कारण बन्द प्रशिक्षण प्रभावित बनेको थियो ।
ग्लोबल छनोटको मिति नजिकिँदै गर्दा पनि विवाद झन् चर्किएपछि क्यानले केही लचिलो भएर सहमतिका लागि प्रयास थालेको थियो ।सहमति अनुसार नै क्यान अध्यक्ष चतुरबहादुर चन्दले बोर्डमा कुरा राख्ने र निर्णय गर्ने बताएका छन् । यस्तै ज्ञानेन्द्रले बन्द प्रशिक्षणमा सहभागी हुनका लागि अन्य खेलाडीहरुसँग छलफल गर्ने बताएका छन् ।
खेलाडी वर्गीकरणबारे मिडियामा गएर विरोध गरेको भन्दै क्यानले मंसिर २९ गते कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्दै सन्दीप लामिछानेलाई कप्तान बनाएको थियो । साथै मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई ६ महिनाका लागि ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा सहभागी नगर्ने गरी कारबाही गरेको थियो ।
तर, कारबाहीमा परेका चार खेलाडीसँगै अन्य खेलाडीले पनि क्यानको उक्त कारबाहीको चर्को विरोध गरेपछि विवादले उग्र रुप लिएको थियो ।
बन्द प्रशिक्षणमा बोलाइएका ३० खेलाडी
सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, शरद भेसवाकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आसिफ शेख, कमलसिंह ऐरी, सहाब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुसन भारी, पवन सराफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुल्सानकुमार झा, नन्दन यादव, जितेन्द्रकुमार मुखिया, विवेककुमार यादव, सौरभकुमार खनाल, राजेश पुलामीमगर, किशोर महतो, सागर ढकाल, हरिशंकर साह ।