आउँदै गरेको निर्वाचन र वर्तमान राजनीतिका विषयमा राष्ट्रिय जनता पार्टी (राजपा)का सह-महामन्त्री डा सुरेन्द्र झासंग गरिएको कुराकानी :


ADVERTISEMENT


संविधानको कार्यान्वयन अन्तर्गत हामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको संघारमा छौ । सबै राजनीतिक दलहरुले निर्वाचन प्रचारप्रसार अभियानलाई तिव्रता दिएका छन् । राजपालाई निर्वाचन कत्तिको लागेको छ ?


ADVERTISEMENT

# # #


यो स्वभाविक हो । परिस्थिति विषम भएपनि सबै राजनीतिक दलहरु एक ठाउँमा आएका छन् । सबैले आफ्नो पक्षमा मत तान्नका लागि भरमग्दुर प्रयास गरिरहेका छन् । यस अवस्थामा राष्ट्रिय जनता पार्टी पनि अछुतो रहन सक्दैन । म यसलाई राष्ट्रिय पर्व भन्छु । हामी पनि जनताको माझमा गएर हाम्रा मुद्दाहरु जसको लागि विगत एक वर्षदेखि हामी संघर्षरत छौँ । त्यी मुद्दाहरुलाई जनताको बीचमा पुर्याउने अवसरको रुपमा यसलाई लिएका छौँ । लोकतन्त्रलाई सबल बनाउँदै हिमाल, पहाड र तराईमा बस्ने नेपालीहरुलाई कसरी एकताबद्ध गर्न सकिन्छ ? भन्ने अभियानमा र नागरिक समानताको अभियानमा हाम्रो एजेण्डालाई नेपालको राजनीतिमा कसरी अटाउन सक्छौँ भनेर हाम्रो पार्टी निर्वाचनमा लागेको छ ।

कुनै समयमा तपाईहरु निर्वाचनको विरोध गर्दै हुनुहुन्थ्यो ।  आखिर निर्वाचनमा आएरै छाड्नु भयो होइन ?

आम रुपमा के छ भने हामी मधेशकेन्द्रित ६ वटा दल मिलेर राजपा गठन गरेका हौँ । स्पष्ट रुपमा भन्दा राजपा निर्वाचनमा जानुपूर्व नै हामीले संविधान संशाधनको मुद्दालाई मूल रुपमा उठाउँदै आएका होँ । त्यसको लागि मधेशमा तीन तीन वटा मधेश विद्रोह भयो । पहिलो २०६३ सालमा भएको थियो । त्यतीबेला ५४ जना मधेश माताका छोराहरुले शाहदत प्राप्त गरे । त्यो शाहदतको मुल्य अनुरुप समानुपातिक समावेशिता र संघियता हामीले अन्तिरिम संविधानमा लेख्न सफल भयौँ । पहिलो संविधान सभामा तत्कालीन माओवादी तथा मधेशकेन्द्रित दल संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले चाहेको भए हामीले संविधान निर्माण गर्न सक्थ्यौँ । तर त्यो निर्माण हुन सकेन । दोस्रो संविधान सभाबाट संविधान निर्माण त भयो तर अन्तिरिम संविधानमा टेकेर हुन सकेन । दलहरुबीच १६ बुँदे एजेण्डाका आधारमा संविधान त निर्माण भयो ।

तर हाम्रा अपेक्षाहरु समावेश भएन । त्यसैले हाम्रो जोडदार माग के थियो भने आन्दोलनकै भरमा संविधान संशोधन गर्न सक्छौँ भन्ने हामीले अपेक्षा राखेका थियौँ । तर एमाले विपरित भइदियो । परिणामस्वरुप संसद्मा दोस्रो संविधान संशोधन विध्येयक फेल खायो । संसदको म्याद पनि ढल्किँदै थियो । त्यसैले गर्दा अर्को परिस्थिति निर्माण भयो । अर्को कुरा हाम्रै सहयात्री संघीय समाजवादी फोरम हठातमा दोस्रो चरणको स्थानीय निर्वाचनमा होमियो । त्यसबाट हाम्रो अभियान खुकुलो भयो । अहिले हामी निर्वाचनमा गएका छौँ । स्थानीय तह तेस्रो चरणको निर्वाचनमा हामी बिना तयारी गएका थियौँ । तर जनताले राम्रै मत दिनुभयो । हाम्रो पार्टीको अभियान, निष्ठा र लगावलाई उहाँले सम्मान गर्नुभयो । त्यसैले निर्वाचनमा गएका छौँ ।

निर्वाचनमा जाँदै गर्दा राजपाका अहिलेका मुद्दाहरु के छन् ? जनताका सामू कुन एजेण्डाका साथ जाँदैहुनुहुन्छ ?

यो निर्वाचनमा हामीले खासगरी दुईवटा कुरामा जोड दिएका छौँ । हामी आन्दोलनको एजेण्डाबाट पछाडी हटेका छैनौँ । प्रथमतः हामी के चाहान्छौँ भने विगत २०६३ सालदेखि ३३ वटा जनविद्रोह भयो मधेसमा । त्यो विद्रोहले सबै कुरा त प्राप्त गर्न सकेन । तर केही कुराहरु चाँही प्राप्त गरेको छ । समानुपातिक समावेशिता राज्यका सबै अंगमा लागू भएन तर केही हदसम्म लागू भएको छ । त्यस्तै संघियताको कुरा गर्दाखेरि अहिले प्रदेश नं. २ लगायत सातवटा प्रदेश निर्माण भएको छ । संविधानले मुलतः संघियतालाई स्वीकार गरेको अवस्था छ । विकृत अवस्थामा भएपनि हामीले संघियता प्राप्त गरेका छौँ । हामीले संघियता त्यसै पाएका होइनौँ । रगत बगाएर ल्याएका होँ । यसको उद्देश्य के हो भने मधेश बाहुल्य प्रदेशमा हामीले सरकार निर्माण गर्न पाउनु पर्छ । जनतालाई हामी के अपील गर्न चाहन्छौँ भने यो तपाईहरुको बलिदानीबाट पाएको उपलब्धी हो । यसलाई तपाईहरुले नै संरक्षण गर्नु पर्छ । प्रदेश नं २ मा मेधेशी गठबन्धनको सरकार निर्माण होस भन्ने चाहन्छौँ र त्यही अनुसार हामी जनताको बीचमा जाँदैछौँ । यदि त्यो भएको अवस्थामा मधेशी जनताको भावना अनुरुप त्यहाँको शासन प्रशासन हामीले चलाउने हो । त्यहाँको भाषा, संस्कृतिलाई हामीले लागू गर्ने हो । अर्को महत्वपूर्ण कुरा के हो भने विकृत अवस्थामा हामीले केही उपलब्धीहरु प्राप्त गरेका छौँ । सिमाङ्कनलाई हामीले सच्याउनुपर्ने अवस्था छ । प्रादेशिक सरकारलाई अधिकार कटौँती गरेको छ ।

कस्तो अधिकार भन्न खोज्नु भएको ?

न्यायालय छैन । आर्थिक अधिकार कुन्ठित गरेको छ । जम्मा १५ प्रतिशत राजश्व प्रदेशलाई दिइएको छ । र त्यसमा पनि ९ प्रतिशत स्थानीय तहलाई दिएको छ भने बाँकी प्रदेशलाई दिइएको छ । जुन संसारमा कही नभएको अवस्था हो यो । त्यसैले हामी के चाहन्छौँ भने प्रदेशभित्र स्थानीय तहलाई ल्याउने, सिमाङ्कनलाई परिमार्जन गर्ने र मेचिदेखि महाकालीलाई २ प्रदेशमा लिएर जाने । हाम्रो समानुपातिक समावेशिता राज्यका सबै अंगमा लागू गर्ने । त्यस्तै नागरिकता सम्बन्धी मुद्दा, जुन अन्तिरिम संविधानमा हामीले जसरी स्वीकार गरेका थियौँ । त्यही अनुरुप हुनुपर्छ । त्यसैले हामी जनतालाई के अपील गर्न चाहन्छौँ कि तपाईहरुले हामीलाई यति शक्ति दिएर पठाउनुस् कि मधेशी गठबन्धन बेगर केन्द्रमा सरकार निर्माण गर्न नसकियोस् । त्यसो भयो भने आउने संसद्बाट यी तमाम विषयहरुको हामी सम्बोधन गछौँ । अनि मुलूकलाई समृद्धिको बाटोतर्फ लैजान्छौ । यही अनुसार हामी निर्वाचनमा लागेका छौँ ।

दुई नं प्रदेशमा मधेशी गठबन्धनले सरकार निर्माण गर्छ भनिरहँदा वर्षेनी तराई डुबानमा पर्छ । अधिकांश जनता खुला आकाशमा रात बिताइरहेका हुन्छन् । यो ठाउँको विकास र समृद्धि कसरी हुन्छ ?

सामान्य कुरा हामीले के बुझ्नुपर्छ भने २ सय ५० वर्षदेखि हामी पछाडी परेका छौँ । यसो हेर्दा मधेश सुगम ठाउँ हो । त्यहाँ बाटाघाटो बनाउन खासै पैसा खर्च हुँदैन । तर दुर्भाग्य के छ भने २ नं प्रदेशमा पर्ने जिल्लाहरु मानव विकास सूचकाङ्कमा मनाङ, मुस्ताङभन्दा पनि पछाडी छन । यसले के देखाउँछ भने विगत २ सय ५० वर्षदेखि जुन शासन सत्तामा जो जानुभयो । उहाँहरुको प्रायोरिटीमा मधेशका जिल्ला कहिल्यै पनि परेनन् । मैले तपाईलाई हामी यही गर्न सक्छौँ भन्दिन तर तपाईलाई म के भनौँ भने मधेसी गठबन्धन सचेत छ कि हाम्रो आर्थिक समृद्धि, त्यहाँको सांस्कृतिक धरोहरहरु र सांस्कृतिक सभ्यताको पहिचानको कुराहरु जुन पाँच हजार वर्षदेखि जागृत छ । मधेश एउटा राष्ट्र हो । र यसको पुनरुत्थानका बाटोमा हामी अगाडी बढ्छौँ । त्यसै अनुरुप हाम्रो योजना आउँछ र छिट्टै त्यो अवस्था निर्माण भएको खण्डमा हामी जनताको बीच यी कुराहरु राख्ने नै छौँ ।

निर्वाचनमा आफ्नो बहुमत ल्याउनका लागि विभिन्न पार्टीहरुले गठबन्धन गरेका छन् । तपाईहरुले पनि केही ठाउँहरुमा गर्नु भएको छ । विशेषगरी अहिले अन्य दलहरु एमाले र माओवादीबीच भएको वाम गठबन्धनदेखि डराएको जस्तो देखिन्छ । तपाईहरुले यसलाई कसरी लिनुभएको छ ?

हेर्नुस्, यो वाम गठबन्धन होइन, दाम गठबन्धन हो । देश विदेशका पैसा यसमा लगानी भएको छ । नेपालमा कम्युनिस्टहरु जबजब समस्यामा पर्छन् । उनीहरुले नारा दिन्छन् कि ‘हामी वाम, एक ठाम’ भनेर । २०४३ सालमा पनि यो नारा नभएको होइन । तर सत्य के हो भने सत्तामा पुग्नका लागि उहाँहरु यो नारा दिनुहुन्छ । जब सत्तामा जानुहुन्छ अनि अंशबण्डा उहाँहरुबीच मिल्दैन । जो सत्तामा जान्छ उसले बाँकीलाई पाखा लगाउँछ । अनि त्यस पछि वाम दश ठाममा जान्छ । त्यसैले यो त्यती ठूलो विषय होइन । अब एउटा उदेक लाग्दो कुरा के छ भने साम्यवाद ल्याउँछु भनेर माओवादीको स्थापना भएको हो ।

दुई वटै एक ठाउँ आएको छन् । त्यसमा पनि एक अर्काको टाउकै काट्ने परिस्थिति निर्माण भएको पार्टीहरु दुईवटै एक ठाउँमा आउनुको पछाडी केही न केही व्यक्तिगत स्वार्थ अड्किएको छ । टाउका त मिले तर खुट्टा मिलेकै छैनन् । जिल्ला, वडासम्मका साथीहरु मिल्ने सकेका छैनन् । जो मिल्ने कुरा पनि आउँदैन । त्यसैले यो गठबन्धन भनेको सत्तामा जानसक्ने दाउ पनि हो । अर्को कुरा माओवादी केन्द्रको अवस्था कस्तो छ भने  यसको एक्लै निर्वाचनमा जानसक्ने हैसियत नै छैन ।

प्रचण्ड नेपालमा एक्दमै चलायमान व्यक्ति पनि हो ।एक्लै निर्वाचनमा गएपछि आफ्नो अस्तित्व नै मेटिने डरले माओवादीले साँटगाँठ गरेको हो । अर्को संसदीय व्यवस्थालाई उपयोग गर्दै उपिँयाजस्तै देशको राष्ट्रिय ढुकुटी चुस्ने पार्टी एमाले हो ।

नेपाली राजनीतको चतुर खेलाडी केपी ओलीलाई के लागेको छ भने माओवादी केन्द्र भित्र रहेका कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउन सक्छु कि भनेर उहाँहरुले दाउ खोज्नु भएको छ । विदेशीको पनि यसमा सहयोग छ । हाम्रो छिमेकी मुलूक चीनको हस्तक्षेप खुलमखुला यसमा देखिन्छ । त्यसैले उहाँहरुले आफ्नो मालिकलाई खुसी पार्नका लागि पनि उहाँहरुले यो काम गर्नु भएको छ । मलाई लाग्छ कि यो निर्वाचन आउञ्जेलसम्म पनि टिक्दैन । यदि टिकिहाल्यो भने पनि उहाँहरु निर्वाचन पनि टुटफुट भइहाल्नुहुन्छ ।

तर, तपाईहरुले पनि त लोकतान्त्रिक गठबन्धन बनाउनु भएको छ नि ?

यो भनेको लोकतन्त्रको सुदृढिकरण र रक्षाका लागि लोकतान्त्रिक पार्टीहरुको बीचमा भएको गठबन्धन हो । छलफलको माध्यमबाट अगाडी बढ्ने हुँदा विभिन्न विचारहरुको प्रतिनिधित्व रहन्छ । मैले विगतदेखि बोल्दै आएको कुरा के हो भने लोकतान्त्रिक गठबन्धन कम्तीमा हामीले दश वर्षका लागि निर्माण गर्नु पर्ने हुन्थो। त्यसको अगुवाई सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले गर्नु पर्ने थियो । तर कांग्रेसभित्र नेतृत्वमा देखिएको अल्छिपना भनौँ या अन्य भनौँ त्यो अग्रसरता देखिएन । पार्टी आन्तरिक विवादमै रुम्मलिएकाले यसले गती लिन सकेन । अहिले देशमा तीन वटा शक्ति छ । एउटा बाम शक्ति, अर्को नेपाली कांग्रेस हो भने अर्को राजपा र संघीय समाजवादी फोरमबीचको जुन गठबन्धन छ, त्यो तेस्रो शक्ति हो । हामी के चाहान्थ्यौँ भने लोकतान्त्रिक गठबन्धन १० वर्षसम्म भएको भए मुलूकले एउटा गति पनि लिन्थ्यो । संविधानको दिघार्यूको लागि लोकतान्त्रिक गठबन्धन गर्नुपर्ने हो । तर यसलाई नेपाली कांग्रेसका साथीहरुले चुनावी तालमेलका रुपमा लिनुभयो । म त सम्भव भएसम्म एउटै निर्वाचन चिन्ह, एउटै घोषणापत्र र अवधारणामा लड्नु पथ्र्यो भन्ने सोचको मानिस । तर त्यो हुन सकेन । यसको दोष नेपाली कांग्रेसले बोक्नुपर्छ । तर म निर्वाचन पश्चात त्यो खालको वातावरण बनाउने कुरामा विश्वस्त छु ।

राजपा र फोरमको गठबन्धन वा तालमेलका बारेमा जनतालाई कसरी बुझाउनुहुन्छ ?

२ नं प्रदेशमा मधेशी गठबन्धन भयो । हामीले संघीय समाजवादी फोरमसंग सिट बाँडफाँड गरेका छौँ । प्रतिनिधि सभाको लागि १५ वटा सिट राजपाले पाएको छ भने १७ वटा संघीय समाजवादी फोरमले पाएको छ । त्यस्तै ३१ वटा प्रदेश सभाको लागि राजपाले पाएको छ भने बाँकी फोरमले पाएको छ । अन्य कुनैपनि ठाउँमा तालमेल वा गठबन्धन छैन । त्यसैले हामी के भन्न चाहन्छौँ भने गठबन्धनको जुन उम्मेदवार छन् । त्यसमा हामी इमान्दारीका साथ जिताउँछौँ । जनताले पनि उहाँहरुलाई मत दिनुहुन्छ भन्ने आशा लिएका छौँ ।

सबै दलहरु निर्वाचन पश्चात समृद्धि र विकासतर्फ मुलूक जान्छ भनिरहेका छन् । तपाईको विचारमा अबको राजनीति कतातिर जाँदैछ ?

यो संविधान कार्यान्वयनको कुरा त अब पूरा हुने अवस्थामा गइसक्यो जस्तो मलाई लाग्छ । तीनै तहको निर्वाचन पश्चात सबै संविधान कार्यान्वयनका कुरा पूरा हुन्छ । कार्यान्वयन भन्ने कुरा त्यती महत्वको छैन । किनभने संविधानसंग जुन किसिमको द्वन्द्व छ त्यसलाई हामीले आगामी संसद्बाट न्युनिकरण गर्न सक्यौँ भने भविष्य हुन्छ । नत्रभने जुन प्रकारले संविधान निर्माण गरिएको छ त्यसरी नै कार्यानवयन पनि फितलो हुन्छ । संविधानमा त्रुटी कहाँ छ भन्ने कुरा सबैलाई थाहा छ । तर, त्यसको समाधानका लागि उहाँहरु सक्रिय हुनुहुन्न । यदि समाधान भयो भने समृद्धि त भइहाल्छ नि ।

अन्त्यमा,  मतदातालाई भन्नुपर्ने कुरा के छ ?

यो निर्वाचन लोकतान्त्रिक व्यवस्था र पूँजीपति व्यवस्थाबीच हुँदैछ । अहिले पैसा हुनेले चुनाव जित्ने जमाना छ । एउटै उम्मेदवारले ३ करोड रुपैयाँ खर्च गर्ने गरिरहेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवारले १० करोडसम्म लगानी गर्न तम्सिनु रहेका छन्  । आम मतदाताहरु विशेषगरी युवा साथीहरुलाई मेरो आग्रह के छ भने पैसा जितेर जित्ने व्यक्तिहरु समाजसेवी हुन सक्दैन । १० करोड लगानी गर्नेहरुको तलब पाँच वर्षमा त्यती पुग्न सक्दैन । त्यस्तो मानिसलाई हामीहरुले जिताएर पठायौँ भने लोकतन्त्र धरापमा पर्छ । जनताको लागि सेवा गर्न सक्दैन । ती मान्छेहरु आफ्नो लगानी उठाउनमै केन्द्रित हुन्छन् । त्यस कारण राजनीतिक दलहरु मतदाता किन्ने, निर्वाचन अधिकृत किन्ने काममा लाग्नु हुँदैन । त्यसैले आम मतदाता पनि यसमा सचेत हुन जरुरी छ । पार्टी जनुसुकै होस्, तर इमान्दार, योग्य र राजनीतिमा जीवन बिताएको व्यक्तिलाई मत दिनुस् भन्न चाहान्छु ।