काठमाडौँ – नेपाली कांग्रेसका नेता गुरु भट्टराईले पार्टीको १४ औँ महाधिवशेन अन्तर्गत प्रदेश नं. १ को निर्वाचनमा आफूमाथि हिंसा भएको बताएका छन् ।


ADVERTISEMENT


काँग्रेस सभापतिमा पराजित भएका भट्टराईले मंगलबार सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै पार्टीको मूल्य मान्यता र विधानलाई कुल्चिएर सत्ताको चरम दुरुपयोग गर्दै प्रदेश १ मा निर्वाचन गरिएको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘जित र हारलाई हामीले सहज रुपमा स्वीकार्नु पर्छ भन्ने मान्यता हामी राख्छौँ । यो मूल्यको राजनीति पनि हो । तर, प्रदेश २ मा फरक दृश्य देखियो । मूल्य स्खलनको चरम दृष्टान्त हो प्रदेश नं. १ को निर्वाचन ।’

गत संसदीय निर्वाचनमा उहाँ नै सभापति हुनुहुन्थ्यो, उहाँ नै प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले टिकट वितरणको क्रममा एक पटक ममाथि हिंसा गरिसक्नु भएको थियो ।’ उनले भने, ‘नम्बर एक सिफारिसमा परेको व्यक्तिलाई उहाँले उम्मेदवार बन्नबाट बञ्चित गर्नुभयो । त्यो राजनीतिक हिंसा थियो । त्यो हिंसाको श्रृङ्खला अहिले फेरि दोहोरियो ।’

नेता भट्टराईले पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा प्रदेश नं. १ मा कृष्णा सिटौलासँग गठबन्धन बनाएर पार्टी सभापति देउवाले आफूमाथि हिंसा गरेको जिकिर गरे । ‘सत्ताको चरम् दुरुपयोग, एकप्रकारले भन्ने हो भने धनवाद, डनवाद देखियो । सरकारका मन्त्रीहरु सरकारी काम छाडेर मोर्चाबन्दी गरेर निर्वाचनको मैदानमा मत मागेको र पैसाको खोलो बगाएको देखियो ।’

मतगणनामा पनि धाँधली गरिएको दाबी गर्दै उनले आफूले पुनः मतगणनाको माग गर्दा पनि केन्द्रीय निर्वाचन समितिले आलटाल गरिरहेको बताए । विराटनगरको सबैभन्दा महंगो होटेलमा बसेर मतहरु लुटिएको आफ्नै आँखाले देखेको उनले दाबी गरे ।

प्रदेश सभापतिमा संस्थापनइतरबाट उठेका भट्टराई देउवा–सिटौला पक्षका उद्धव घिमिरेसँग २ मतले पराजित भएका थिए ।

निर्वाचन समितिले भ्रम पैदा गरेकोले पार्टीका केन्द्रीय सदस्य शेखर कोइराला, सुजाता कोइराला लगायतले मत नहालेको उनले बताए । भट्टराईले भने, ‘उहाँहरुले नियतवश, घाती मानसिकताबाट मत दिन नआउनु भएको होइन । परामर्श दिनेहरुले गलत परामर्श दिएर, मत दिँदा भोलि केन्द्रीय महाधिवेशनमा उम्मेदवार हुन नपाउने भन्ने एकदमै ठूलो भ्रम सिर्जना गरिएको थियो ।’