रत्ननगर, चितवन– चितवनमा मतदाता शिक्षाका स्वयंसेवकहरु परिचालन गरिएको छ ।


ADVERTISEMENT


जिल्लामा छनोट भएका ४०८ स्वयंसेवकमध्ये १५० जनालाई आज प्रशिक्षण दिएर मतदाता शिक्षाका लागि गाउँगाउँमा परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए। उनका अनुसार आज झण्डै २०० जनाको प्रशिक्षण रहेको र उनीहरुलाई पनि आजै परिचालन गरिनेछ । बाँकी अन्यलाई मंगलबार प्रशिक्षणपश्चात खटाइने ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


जिल्लामा १६१ मतदान स्थलमा ४०८ वटा मतदान केन्द्र रहेको छ । हरेक मतदान केन्द्रमा एकजना मतदाता शिक्षा स्वयंसेवक रहनेछन् । यसपालि भने उनीहरुले गाउँको टोल विकास संस्था र महिला समूहसँग समन्वय गरेर एउटा टोलमा एकैचोटि मतदाता शिक्षा प्रदान गर्नेछन् ।

यसअघि घरघरमा जाँदा मानिस नभेटिने गरेकाले अहिले सामूहिक रुपमा मतदाता शिक्षा दिन लागिएको छ । यसपटक स्कुलमा गएर विद्यार्थीलाई जानकारी गराई उनीहरुका अभिभावकलाई सिकाउन आह्वान गरिने ढकालले बताए।

उनीहरुले मतदान गर्न पर्नाको कारण, मताधिकार के हो, कसरी भोट हाल्दा बदर हुँदैन । किन उम्मेदवार छान्ने भनेर जानकारी गराउनेछन् । भोट बदर नहोस् र धेरै मत खसोस् भन्ने लक्ष्यसहित मतदाता शिक्षा दिन लागिएको हो । जिल्लामा तीन निर्वाचन क्षेत्रमा तीन लाख ५४ हजार ३६ मतदाता रहेका छन् । उम्मेदवारहरु अहिले गाउँगाउँमा चुनावी प्रचार अभियानमा सक्रिय छन् ।