काठमाडौँ – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारको महिला क्रिकेट टोलीविरुद्ध ऐतिहासिक जित हात पारेको छ । तीनको खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेलमा बुधबार कतारलाई ६१ रनले हराउँदै नेपालले पहिलो पटक नै सिरिज कब्जा गरेको हो ।
कतारको दोहास्थित वेष्ट इन्ड पार्क स्टेडिययममा टस जितेर ब्याटिङ थालेको नेपालले कप्तान रुबिना क्षेत्रीको पहिलो टी–२० अन्तर्राष्ट्रिय अर्धशतकको मदतमा निर्धारिक २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनायो ।
१३० रनको लक्ष्य पच्छ्याउँदै दैखान उत्रिएको कतार १९.३ ओभर खेल्दा ६८ रन बनाएर अलआउट भयो । नेपालका लागि सरस्वती कुमारी चौधरीले शानदार बलिङ गरिन् । ४ ओभरमा १ मेडेन फाल्दै उनले ८ रन मात्र खर्चिएर ४ विकेट चट्काइन् । यस्तै कप्तान रुबिना क्षेत्रीले २ विकेट लिँदा सबनम राई, कविता जोशी र संगीता राईले समान १–१ विकेट लिए ।
कतारका लागि कप्तान आयशाले २४ रन बनाइन् भने केरी पौन सेटले १५ रन जोडिन् । अन्यले दोहारो अंक छुन सकेनन् ।
यसअघि नेपालका लागि कप्तान रुबिनाले ४८ बलमा ४ चौका र १ छक्काको मदतमा सर्वाधिक ५० रन बनाइन् । यस्तै कविता कुँवरले ३० बलमा २ छक्कासहित ३१ रन जोड्दा अप्सरी बेगमले १७ बलमा एक चौकासहित २३ रन बनाएर नटआउट रहिन् ।
कतारका लागि एन्जेलिन मारेले २ विकेट लिइन् भने एलिन खान, सबिजा पनायन र साची धडवालका नाममा १–१ विकेट रह्यो । खेलको उत्कृष्ट खेलाडी नेपाली कप्तान रुबिना क्षेत्री चुनिइन् । नेपालले सिरिजको अन्तिम तथा तेस्रो खेल भोलि खेल्नेछ ।
महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि टी–२० सिरिज खेल्न कतार पुगेको नेपाली टोलीले मंगलबार पहिलो खेलमा कतारलाई ११९ रनले पराजित गरेको थियो ।
कतार सिरिजपछि नेपाली टोली आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटका लागि मङ्सिर ३ गते युएई प्रस्थान गर्नेछन् । छनोट खेल भने आगामी मंसिर ६ देखि १२ गतेसम्म युएईमा आयोजना हुनेछ ।
महिला टी–२० विश्वकपको एशियाली छनोटमा नेपालले घरेलु टोली युएइसगैँ भुटान, हङकङ, कुवेत र मलेसियासँग खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ ।