काठमाडौँ – प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् ।


ADVERTISEMENT


कुल ९२ जना सांसद रहेको प्रदेशसभामा बुधबार सभामुख बाहेक ७९ जना सांसद उपस्थित रहेका थिए । त्यसमध्ये मुख्यमन्त्री राईको पक्षमा ५० सांसदले मतदान गरेका छन् भने विपक्षमा २९ सांसदले मतदान गरेका छन् । राईले पाएको मत प्रदेशसभामा कायम रहेको सदस्य संख्याको बहुमत भएकाले आफूमाथि प्रदेशसभाको विश्वास छ भन्ने मुख्यमन्त्रीको प्रस्ताव बहुमतले पारित भएको सभामुख प्रदीप कुमार भण्डारीले घोषणा गरे ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री राईको पक्षमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मत दिए । नेकपा एमालेका सांसदले भने राईको विपक्षमा मतदान गरेका हुन् ।

प्रदेशसभामा अल्पमतमा परेपछि तत्कालीन मुख्यमन्त्री एमालेका भीम आचार्यले राजीनामा दिएका थिए । त्यसपछि कार्तिक १६ गते पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका प्रदेश १ संसदीय दलका नेता राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यससँगै प्रदेश नं. १ मा गठबन्धनको सरकारले बाँकी कार्यकाल चलाउने पक्का भएको छ ।