काठमाडौँ– एक विद्यालय, जहाँ शिक्षक विद्यार्थीलाई पढाउनुको सट्टा कुर्सीमा बसिरहेका छन् । अनि कक्षाका १८ विद्यार्थी भने सुतिरहेका । अनौठो लाग्ने यस दृश्यको कारण बारे सोधपुछ गर्दा, जवाफमा शिक्षक भन्छन्, उनले पढाए पनि विद्यार्थी भोक र शारीरिक ऊर्जाको कमीका पढ्न सक्ने स्थितिमा छैनन् । यो कारुणिक दृश्य कुनै ग्रामीण भेगका विद्यालयको नभई काठमाडौँकै बुढानिकलकण्ठ माध्यमिक विद्यालयको थियो ।
पहिल्यै भारतका श्रीला प्रभुपादले सञ्चालन गरेका ‘अन्नामृत’ र ‘अक्षय पन्ना’ जस्ता प्रारम्भिक प्रोजेक्टबाट प्रेरित भएका टोली त्यो कारुणिक दृश्यले उनीहरुलाई त्यस दृश्यलाई खुशीमा बदल्नपर्छ भन्ने हौसला एवम् हुटहुटी दिएको बताउँछन् । तीनै इच्छा र हुटहुटीको संयुक्त स्वरुप हाल भोका विद्यार्थीको खाना एवम् शिक्षा बन्न पुगेको छ, ‘फुड फर लाइफ–नेपाल(एफएफएलएन) ।’
सन् २०१५ मा स्थापना भई त्यसयता विद्यार्थीको कुपोषण र निरक्षता चेन तोड्दै आएको यस संस्था ‘उचित शिक्षाका लागि उचित आहारको आवश्यकता’ मा जोड दिने नेपालकै पहिलो संस्था पनि हो ।
विद्यार्थीको भोक मेटाई शिक्षामा सरिक गराउँदै आएको यस संस्था नेपालमा पहिलो लकडाउन हुनुपूर्व नै आफूहरुले बुढानिलकण्ठ लगायत टोखा नगरपािलकाका अन्य सामुदायिक विद्यालयका दैनिक ६ हजारभन्दा बढि बालबालिकालाई सेवा प्रदान गरिसकेको यस संस्थाले लकडाउनपछिको समायावधिमा पनि झण्डै ३५ सय बालबालिकालाई निःशुल्क खाना वितरण गर्दै आएको छ ।
वास्तवमै पनि तुलनात्मक रुपमा हेर्ने हो भने संस्थाको उक्त अभियानपछि विद्यालयमा विद्यार्थीको उपस्थित राम्रो हुनुका साथै अधिकांश विद्यालयले जंकफुड संस्कृतिलाई हटाएको कारण विद्यार्थीको स्वास्थ्य स्थितिमा पनि सुधार आएको देखिन्छ ।
‘भोकका कारण कुनैपनि बालबालिका शिक्षाबाट वञ्चित हुनुपर्दैन’ भन्ने नारा बोकेको यस संस्थाले सन् २०३० को अन्त्यसम्म १० हजार बालबालिकालाई सेवा प्रदान गर्ने उद्देश्य लिएको संस्थाको भनाई छ ।