काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधिन गौतमबुद्ध विमानस्थलको बाँकी काम २५ दिनभित्र सक्न निर्देशन दिएका छन् । मन्त्री भट्टराईले आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई चाँडो काम सक्न निर्देशन दिएका हुन् ।
शनिवार स्थलगत रिपोर्टिङ गर्दै मन्त्री भट्टराईले २५ दिनभित्र काम नसकिए आयोजना प्रमुख र निर्माण व्यवसायीसँग स्पष्टीकरण माग्ने बताए ।
राष्ट्रिय गौरवको आयोजनाको एक नम्बरको विकास योजना भएको बताउँदै उनले गौतमबुद्ध विमानस्थल उदाहरणीय कामको रुपमा देखिने बताए ।
कोभिडको प्रभावका कारण रोकिएको उपकरण जडानको काम पनि केही समयमै पुनः सञ्चालन गरिने प्रतिवद्धता उनले गरे । यसका लागि प्रक्रिया अघि बढिसकेको उनको भनाइ थियो ।
हालसम्म ९२ प्रतिशत काम सकिएको बताउँदै आयोजना प्रमुख प्रवेश अधिकारीले आफ्नो तर्फको काम सकिएको बताए । बाँकी काम सम्पन्न गर्न विदेशी प्राविधिकको आवश्यक पर्ने उनको भनाइ थियो । जवाफमा मन्त्री भट्टराईले विदेशी जनशक्ति ल्याउने काम अघि बढिसकेको बताए । विदेशी जनशक्ति नआएपनि काम नरोकिने बताउँदै उनले नेपाली कामदारबाटै भएपनि तोकिएकै समयमा काम सम्पन्न गरिने उल्लेख गरे ।