काठमाडौँ – नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल सकिएसँगै कुलमान घिसिङ मंगलबार विदा भए ।
उनलाई अर्को कार्यकालका लागि पनि सरकारले नियुक्त गर्ने अपेक्षा राखिएको थियो । तर, सरकारले त्यस्तो निर्णय गरेन । बरु उर्जा मन्त्रालयले लेखनाथ कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशक बनायो ।
कुलमान प्राधिकरणबाट विदा भएसँगै सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । केही कुलमानको पुनर्नियुक्ति हुनुपर्ने माग गर्दै सडकमा समेत उत्रिएका छन् । सेलिब्रेटीदेखि सर्वसाधारणले कुलमान नदोहोरिएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । त्यही धारमा प्रसिद्ध गायक अमृत गुरुङपनि आइपुगेका छन् ।
बुधबार एक ट्वीट गर्दै गायक गुरुङले ‘कुलमानको विदाइ’ समाचारले खिन्न भएको बताएका छन् । व्यक्तिगत रुपमा कुलमानलाई नचिने पनि उनको कामलाई चिनेको भन्दै गायक गुरुङले राम्रो गर्नेलाई राम्रो भन्दा ईर्ष्याको शिकार हुने परिपाटी शुरू हुनु दुःख रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘अस्ति ‘कुलमान फेरी नियुक्त हुने’ समाचारले खुशी भएको थिएँ, अहिले ‘कुलमानको विदाइ’ समाचारले खिन्न भएँ। म उनलाई चिन्दिन, मैले उनको काम चिनेको हुँ। राम्रो गर्नेलाई राम्रो भन्दा ईर्ष्याको शिकार हुने परिपाटी शुरू भएको हो भने, अब त्यो पनि भन्न भएन। यो स्वतन्त्रता छिनेकोमा धन्यवाद सरकार ।’
अस्ति ‘कुलमान फेरी नियुक्त हुने’ समाचारले खुशी भएको थिएँ, अहिले ‘कुलमानको विदाइ’ समाचारले खिन्न भएँ। म उनलाई चिन्दिन, मैले उनको काम चिनेको हुँ।राम्रो गर्नेलाई राम्रो भन्दा ईर्ष्याको शिकार हुने परिपाटी शुरू भएको हो भने, अब त्यो पनि भन्न भएन।यो स्वतन्त्रता छिनेकोमा धन्यबाद सरकार।
— Amrit Gurung (@amritnepathya) September 16, 2020