काठमाण्डौ – शनिबार दशैँको सातौँ दिन अर्थात फूलपाती हो । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा सप्तमीका दिन विधिपूर्वक फूलपाती भित्र्रयाइन्छ ।


ADVERTISEMENT


घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतिकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।


ADVERTISEMENT

# # #


‘नवपत्रि’काको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतिकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डाक्टर रामचन्द्र गौतमले बताउनुभयो । फूलपाती भित्र्याएपछि नौ ओटै देवीको विधिपूर्वक पूजा आराधना गरिने उहाँले बताउनुभयो ।

काठमाण्डौको हनुमानढोका दरबारमा रहेको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती दिउँसो तीन बजे भित्र्याइँदै छ । फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाण्डौँको जमलसम्म काठमाण्डौबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्ड बाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।