गोरखा । दशौं लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापाले हात पारेका छन् । १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै उनले उपाधि जितेका हुन् ।


ADVERTISEMENT


दौड जितेसँगै अनिषलाई बिहीबार नै श्रीपेच र पगरी लगाएर लिगलिगे राजा घोषित गरिएको छ । ‘श्रीपेचसहित उहाँलाई मोटरमा राखेर नगर परिक्रमा गराउछौ,’ पालुङटार नगरपालिकाका मेयर दिपकवावु कंडेलले भने, ‘राजा बनाएर आज एक रात यही लिगलिगकोटमा राख्छौं ।’


ADVERTISEMENT

# # #


थापालाई ६० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पनि उपलब्ध गराइएको उनले बताए । एक वर्षसम्म लिगलिगकोटको दूत रहने गरी व्याज पनि उपलब्ध गराइएको छ ।

प्रतियोगितामा नेपाली सेनाका खगे भाट दोस्रो भएका छन् । एक घण्टा १ मिनेट ८ सेकेण्डमा उनले निर्धारित दूरी पार गरेका छन् । उनले ३५ हजार नगद पुरस्कार पाए ।

एक घण्टा १ मिनेट ३४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै नेपाली सेनाकै रामजी बस्नेत तेस्रो भए । उनले नगद २५ हजार पुरस्कार पाएका छन् ।

१६६ जना सहभागी दौडमा दशौं स्थानसम्म हासिल गर्ने सहभागीलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

पालुङटार नगरपालिका, नेपाली सेना र लिगलिगकोट विकास अभियानको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।

प्रतियोगिताका लागि नगरपालिकाले १३ लाख तथा खेलकुद परिषद र टुरिजम बोर्डको तर्फबाट ५र५ लाख रकम सहयोग प्राप्त भएको थियो ।

लिगलिगकोटलाई पर्यटकीय थलोको रुपमा विकास गरेर पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ प्रतियोगिता गर्दै आएको लिगलिग कोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।

यस वर्ष प्रतियोगिताको पुरस्कार रणसिंह दल गणले उपलब्ध गराएको गणपती उज्वल केसीले जानकारी गराए ।