काठमाडौं । काठमाडौंमा दशैंका मुख्य दिनहरुमा पनि फोहोर संकलन गरिने भएको छ। कर्मचारीलाई आलोपालो खटाएर, साँझ वा बिहानको समय मिलाएर फोहोर उठाउने योजना काठमाडौं महानगरले बनाएको छ। महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार संकलन भएको फोहोरलाई ओखरपौवा ल्याण्डफिल्ड साइटमा नै पुर्‍याइने तयारी गरिएको छ।


ADVERTISEMENT


‘विगत वर्षहरुमा दशैँका समयमा साइट बन्द हुन्थ्यो’, उनले भने, ‘यस वर्ष हामीले सरसफाइ गर्दै पर्व मनाउने निधो गरेका छौं। योजनाअनुसार काम भयो भने दशैका दिन ल्याण्डफिल्ड साइटमा फोहोर पुगेको पहिलो वर्ष हुनेछ।’


ADVERTISEMENT

# # #


यसैबीच, महानगरले उद्योग व्यवसाय कार्यालय सबै बन्द हुने हुनाले महानगरवासीले कम फोहोर उत्पादन गरेर सहयोग गर्न आग्रह गरेको छ। महानगरले भनेको छ, ‘काठमाडौंमा हुनेले कम फोहोर निकालिदिए पुग्छ। अहिले मानिसहरुको चहलपहल धेरै हुने ठाउँहरु बजार र मठ—मन्दिरमा सरसफाइ गर्ने, चोक, गल्ली र खुल्ला ठाउँमा पानी छर्किने, बढार्नेलगायतका काम भइरहेका छन्।’

महानगरको फोहोर संकलनमा साझेदारिता गर्दै आएका निजी तथा गैरसरकारी संघ÷संस्थाका प्रतिनिधिले समेत ल्याण्डफिल्ड साइट सञ्चालन हुने हो भने फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन कामलाई निरन्तर चलाउने बताखएको महानगरले जनाएको छ। गैसस महासंघका अध्यक्ष टीकाराम दाहाल गएका वर्षहरुमा फुलपातीदेखि द्वादशीका दिनसम्म ल्याण्डफिल्ड साइट बन्द हुने गरेको र कर्मचारलई समेत विदा दिने गरेको बताउँछन्। तर यस वर्ष साइट सञ्चालन भए काम गर्ने उनको भनाइ छ।

दशैअवधिमध्ये फुलपाती र अष्टमीका दिन धेरै फोहोर उत्पादन हुन्छ। सहरमा उत्पादन भएको फोहोर महानगरले टेकु ट्रान्सफर स्टेशनमा जम्मा गरेर संकलित फोहोर सिसडोल ल्याण्डफिल साईटमा अन्तिम व्यवस्थापनको काम गर्दै आएको छ। उता निजी तथा गैरसरकारी संघसंस्थाले भने सहरका बिभिन्न ठाउँमा जम्मा गरेर ढुवानीको प्रबन्ध गर्दै आएका छन्।