लक्ष्मी प्रपन्न निरौला, प्रवक्ता नेपाल राष्ट्र बैँक


ADVERTISEMENT


राष्ट्र बैँकले गत शुक्रबारदेखि दशैँका लागि भनेर नयाँ नोट बजारमा ल्याएको छ । कसरी वितरण हुँदैछ ?


ADVERTISEMENT

# # #


काठमाडौँको हकमा बालुवाटार परिसरमा र नेपाल बैँक, राष्ट्रिय वाणिज्य बैँक र कृषि विकास बैँकगरी तीन वटा बैँकका २३ स्थानबाट सटही सुविधा उपलब्ध गराएका छौँ । यस्तै काठमाडौँ बाहिरको हकमा राष्ट्र बैँकका कार्यालयहरुमा यो सुविधा उपलब्ध छ । केही प्राइभेट बैँकहरुले पनि आफ्ना ग्राहकलाई नयाँ नोटहरु दिइरहेका छन् ।

नयाँ नोट उपलब्ध गर्ने सहजता कत्तिको छ ?

धेरै नै सहज छ । कुनै ठाउँमा लाइन लाग्नु पर्ला । तर, त्यतीधेरै अप्ठ्यारो भएको छैन । सबै कुरा हामीले भनेको जस्तै छ त भन्न सकिन्नँ । तर, प्राप्त प्रक्रिया अनुसार सहज देखिन्छ । सर्वसाधारणले सहज ढंगले नयाँ नोट सटही गर्न पाउन् भन्नेमा हामी एकदमै सचेत छौँ । त्यसकै लागि हाम्रो टिम बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म कार्यरत छ ।

राष्ट्र बैँकले यो वर्ष कति नयाँ नोट ल्याएको छ ?

नयाँ होएन, नयाँ र सुकिलो दुबै हो । हामीले बुझ्नुपर्ने कुरा के छ भने दशैँको बेलामा दुई किसिमका नोटहरुको आवश्यकता पर्छ । ५ देखि १०० सम्मका नोट सटहीका लागि जान्छन्  भने ५ सय र हजारका नोट पेमेन्टमा जान्छन् । साना नोटको सहटी हुन्छ । यसले ‘नोट इन सर्कुलेसन’मा केही असर पार्दैन । पेमेन्टका लागि गएका नोटहरुले हाम्रो ‘सर्कुलेसन’ बढ्छ । त्यो गतवर्ष सटही बाहेक ५२ अर्ब जति चाहिएको थियो । यसपाली नि त्यतै नै जाला । सटहीका लागि गतवर्ष हामीले साढे १२ अर्ब सटही गरेका थियौँ । अहिले पनि त्यती नै हुनसक्छ भन्ने हाम्रो अनुमान छ । हिजोसम्मको तथ्याङ्क हेर्दा राष्ट्र बैँकको स्टकबाट ५ अर्ब बढीका नोटहरु सटहीका लागि तयारी अवस्थामा बजारमा पुगिसकेका छन् ।

दशैँको माहोल छ । यो बेला नोट बिग्रिने गर्छन् । नोटको प्रयोग कसरी गर्ने ?

पहिलो कुरा म सम्पूर्ण नेपालीहरुलाई के आग्रह गर्छु भने चाडपर्वको बेला नोटमा रङ नलगाइदिनुहोस् । नोटमा रङ लगाउने काम अपराधजन्य काम हो । मुलुकी अपराध संहिताले यसलाई अपराध भनेको छ । त्यसकारण यो कार्य नगरौँ र नगराऔँ । यस्तै नोट चिसो वा भिजेको हातले छुँदा पनि बिग्रिने गर्छ । म साथीभाइहरुलाई नोटलाई कच्याककुचुक पारेर बिहान दूध लिन गएको देख्छु । तरकारी, सागसब्जी किन्दा होस् वा अन्य केही सामान किन्दा नोट खुम्च्याएको देख्छु । यस्तो प्रवृत्ति हटाऔँ । किनभने नोटमा राष्ट्रको ठूलो खर्च छ । त्यो खर्च हामीले जोगाउन जरुरी छ । अर्को भनेको सफा नोट सभ्य समाजको प्रतीक पनि हो ।

नोट फोहोर गर्ने प्रवृत्तिको अन्त्य कसरी गर्ने ?

नोटमा रङ लगाउँदा वा अन्य मैँलो मगाउँदा नोटप्रति अन्याय हुन्छ । हामी नेपाली द्वैतचरित्रका छौँ । हामी नेपाली नोटमा लेख्ने, कोर्ने काम गर्छौं । तर, विदेशी नोटलाई भने एकदम जतनका साथ राख्छौँ । एउटै व्यक्तिले दोहोरो चरित्र निभाइरहेको अवस्था छ । त्यसो नगरौँ । विशेषगरी स्कुल कलेज पढ्जे भाइबहिनीहरुले यो कुरा बुझ्न जरुरी छ ।

अझ सबैभन्दा बढी त पण्डित पुरोहितहरुले नोटमा रङ लगाउने बानीको विकास गरिदिनु भयो । उहाँहरुले त्यो काम बन्द गरिदिनुपर्‍यो । वि.सं २००२ सालअघि हामीसंग कागजी मुद्रा थिएन । त्यतिबेला धातुको मुद्रा थियो र पानी लगाउँदा पनि फरक पर्दैनथ्यो । अहिले कागजको नोट छन् । पानी लाग्यो भने बिग्रिन्छन् । त्यसकारण उहाँहरुले पनि समयको परिवर्तनसंग मेल खान सिक्नुपर्यो ।

अन्त्यमा, के भन्नुहुन्छ ?

राष्ट्र बैँकको तर्फबाट म सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुमा यस वर्षको वडा दशैँ, तिहार, छठ, ल्होसार जे जति हाम्रा चाड भने ती सबैको शुभकामना व्यक्त गर्न चाहन्छु । दशैँको बेला कसैले पनि नेपाली नोटमा रङ लगाउने काम नगर्नुहोला । यो अपराधजन्य काम हो । कसैले रङ लगाएको देख्नुभयो भने नजिकको प्रहरी चौकी वा नेपाल राष्ट्र बैँकलाई जानकारी गराउनु होला । यत्ति गरेमापनि नेपाली नोटप्रति हामीले न्याय गरेको ठहरिन्छ । विद्यार्थी भाइबहिनीहरुले यसमा ठूलो सहयोग पुर्‍याईदिनुहुन्छ भन्ने ठूलो अपेक्षा गरेका छौँ ।