लुम्बिनी– अधिकांश व्यवसायीले निकासी पैठारी संकेत नम्बर एक्जिम कोड प्रमाणपत्र नलिएका कारण बेलहिया नाकाबाट हुने आयात निर्यात घटेको छ ।


ADVERTISEMENT


निकासी पैठारी व्यवसायलाई व्यवस्थित गर्न सरकारले साउन १ गतेदेखि एक्जिम कोड अनिवार्य गरेपछि सो प्रमाणपत्र धेरैजसो व्यवसायीले नलिँदा निकासी पैठारी घटेको हो ।


ADVERTISEMENT

# # #


आर्थिक वर्ष २०७३/७४ मा लक्ष्यभन्दा रु चार अर्ब ६८ करोडभन्दा बढी राजश्व संकलन गरेको भैरहवा भन्सार कार्यालयमा एक्जिम कोड लागू गरिएपछि चालु आवको सुरुमा लक्ष्यभन्दा कम राजश्व असुली भइरहेको छ ।

भन्सार कार्यालले आव २०७३÷७४ मा रु दुई खर्ब तीन अर्ब ४० करोड बराबरको बस्तु तथा सामग्री आयात हुँदा भन्सार शुल्क, मूल्य अभिवृद्धी कर र अन्तःशुल्कबापत रु ६२ अर्ब ३२ करोड राजश्व संकलन गरेको थियो । भन्सार विभागले रु ५७ अर्ब ३४ करोड राजश्व संकलनको लक्ष्य तोकेकामा लक्ष्यभन्दा ८ प्रतिशत बढी राजश्व संकलन गरेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भुपालराज शाक्यले बताए ।

गत आवमा रु ५७ अर्ब ३४ करोडको लक्ष्य राखेकामा चालु आव २०७४÷७५ मा रु ८१ अर्ब ४३ करोडको लक्ष्य रहेको शाक्यले बताए । दैनिक रु १५ करोडभन्दा बढी राजश्व संकलन गर्दैआएको सो भन्सारमा अहिले दैनिक रु पाँचदेखि रु छ करोडसम्म राजश्व संकलन भइरहेको छ ।

चालु आव सुरु भएसँगै आयातनिर्यात आधाभन्दा बढी घटेको शाक्यले बताए । राजश्व घट्नुको कारण एक्जिम कोड मात्रै नभएको उनको भनाइ छ । उनले एक्जिम कोड भर्खर लागू गरिएकाले प्रमाणपत्र लिएका व्यवसायीले आयात–निर्यात सुरु नगरेकाले तथा भारतमा जिएसटी लागू भएका कारण राजश्व घटेको बताए ।

भारतले नेपालबाट भारत जाने गाडिमा चेकजाँचमा कडाइ गरेकाले पनि लोड गाडी र औद्योगिक सामग्री बोकेका भारतीय गाडी लामबद्ध जाममा फसेका छन् । भैरहवा भन्सार कार्यालयका अनुसार, सामान्य अवस्थामा सरदर तीन सयदेखि चार सयसम्म मालबाहक ट्रक भित्रिने गरेकामा हाल दैनिक एक सयदेखि एक सय ५० मालबाहक गाडी मात्र आएकोे छ । भारतीय पक्षले सुनौली नाकामा कडा चेकजाँच गरेका कारण आयातनिर्यात प्रक्रियामा असर पुगेको हो ।

हालसम्म पाँच सय व्यवसायीले निकासी पैठारी संकेत नम्बर प्रमाणपत्र लिएका छन् । सम्पूर्ण व्यवसायीले सो प्रमाणपत्र नलिएका कारण आयात निर्यात घटेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका महासचिव भिष्मप्रसाद न्यौपाने बताउँछन् । सिमानामा हुने आयात निर्यातलाई व्यवस्थित गर्न भन्सार विभागले देशका सबै नाकामा एक्जिम कोड अनिवार्य गरेको छ ।

व्यवसायीले व्यवसायमा देखिएका बेतिथि रोक्न एक्जिम कोड आवश्यक रहेको भएपनि साना व्यवसायीलाई समस्या हुनसक्ने चिन्ता व्यक्त गरेका छन् । आयात निर्यातको कारोबार गर्ने व्यवसायीले एक्जिम कोड प्राप्त गर्न प्रचलित कानून बमोजिम नियमित रूपमा कर बुझाउँदै आएको, चुक्ता पुँजी रु १० लाख वा सोभन्दा बढी हुनुपर्ने प्रावधान छ ।

आयातकर्ताले रु ५० हजार मूल्यभन्दा बढीको सामान ल्याउँदा अनिवार्य एक्जिम कोड लिएको हुनुपर्छ । पचास हजार रुपैयाँसम्मको सामान आयात र रु पाँच लाखसम्मको निर्यात गर्ने व्यवसायीले एक्जिम कोड लिन जरुरी छैन ।९दीपक घिमिरे० रासस