काठमाडौं – यू-१९ एशिया कपका लागि सिंगापुरमा रहेको नेपाली यू-१९ टिमले अभ्यास खेलमा पहिलो जित निकालेको छ । पहिलो अभ्यास खेलमा हार व्यहोरेको नेपालले बिहीबार श्रीलंकाको फस्ट क्लास क्रिकेट क्लब बादुरेलियालाई ८० रनले पराजित गरेको हो ।


ADVERTISEMENT


यसअघि नेपाल मंगलबार श्रीलंकाकै एसएससी क्लबसंग तीन विकेटले पराजित भएको थियो । कोलम्बोमा बिहिबार भएको खेलमा नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछाएको बादुरेलियाले २३ ओभर १ बलमा अलआउट हुँदै ८४ रन मात्र बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


बादुरेलियालाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ५ विकेट हात पारे । यस्तै पवन सर्राफ र कमल सिंह ऐरी समान २–२ विकेट हात पारे । कुशल मल्लले १ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन बनाएको थियो ।

तर, वर्षाले खेल प्रभावित गरेपछि दोस्रो इनिङ्सको खेल ३५ ओभरमा झारिएपछि बादुरेलियाले डीएल पद्दतिको आधारमा १ सय ६५ रनको लक्ष्य पाएको हो । नेपालका लागि रित गौतम र हरि चौहानले अर्धशतकीय इनिङ्स खेले । रितले ७६ तथा हरिले ५६ रन बनाए । सन्दीप जोराले २४ तथा आसिफ शेखले १४ रन बनाए ।

अब नेपालले तेस्रो तथा अन्तिम अभ्यास खेलमा शुक्रबार चिल मरियन्ससँग खेल्नेछ ।

एसीसी यू–१९ एसिया कप क्रिकेट भदौ १९ देखि २८ गतेबाट हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह ‘बी’ मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।

यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।