काठमाडौँ – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री सिंगापुरमा रहेका बेला भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक नबसेको दाबी गरेका छन् ।


ADVERTISEMENT


संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै सरकारका प्रवक्ता मन्त्री गोकुल बाँस्कोटाले सोमबार मन्त्रिपरिषद् बैठक नबसेको दाबी गरेका हुन् । उनले हुँदै नभएको विषयलाई अनावश्यक उचालेर मुलुकको सार्वभौम सत्तामाथि नै सरकारले गडबडी नै गरेको छ कि भन्ने रुपमा भ्रम फैलाउने काम भएको भन्दै असन्तुष्टी जनाए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरूसँग गरेको भिडिओ कन्फेरेन्समा ‘हाइ हेलो’ मात्रै गरिएको उनले बताए । बाँस्कोटाले भने, ‘त्यो कानूनी छ किनभने मन्त्रिपरिषद्ले कार्यसम्पादन सम्बन्धी विषयमा भिडियो कन्फ्रेन्स गर्न पाउने कुरालाई स्वीकृत गरेको छ । तर हामीले क्याबिनेट बैठक भनेर भनेका पनि छैनौ, एजेण्डा पनि त्यहा कुनै थिएन र पास गरिएन । हामी अरु कुराहरुमा पनि यसलाई पहिलो प्रयास हो, अभ्यास हो, हामी टेक्नोलोजीमा गर्न सक्छौ भन्ने प्रमाणित भयो भनेका छौ ।’

उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले उतैबाट भिडियो कन्फेरेन्समार्फत मन्त्रीपरिषद्को बैठकको अध्यक्षता गरेका थिए । तर, मन्त्रीपरिषद्को बैठकजस्तो संवेदनशील विषयमा भिडियो कन्फेरेन्स गरेको भन्दै सत्तारुढ दलकै नेताहरुले असन्तुष्टि जनाएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विरोध गरेको थियो । कांग्रेसले कार्यबाहक प्रधानमन्त्री तोकिँदातोकिँदै पनि भिडियोमार्फत बैठक बसेको र संवेशनशील कुरामा सरकार असंवेदनशील बनेको आरोप लगाएको थियो ।