काठमाडौँ – सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपालमा राजतन्त्र इतिहास भइसकेकाले यसको हाउगुजी नदेखाउन चेतावनी दिएका छन् ।


ADVERTISEMENT


बिहीबार मन्त्रीपरिषद्को बैठकका निर्णय सुनाउन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता बाँस्कोटाले राजतन्त्र एकादेशको कथा भइसकेको बताएका हुन् । नेपालमा राजतन्त्र आउन लागेकाले सर्वदलीय बैठक बोलाएको हो भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘कहाँको राजा ? को राजा ? लावण्य देशको ? नेपालमा त राजतन्त्र छैन । एकादेशको कथा भइसक्यो । यसको हाउगुजी नदेखाए हुन्छ ।’


ADVERTISEMENT

# # #


कसैका डरले थरथर काँपेर सर्वदलीय बैठक नगरिएको उनले स्पष्ट पारे । लोकतन्त्रलाई ठोस बनाउने प्रक्रिया जारी रहेको भन्दै उनले भने, ‘हामी बिल्कुलै नयाँ व्यवस्थामा प्रवेश गरेका हौँ, हाम्रै इच्छाले । संघीय लोकतान्त्रिक गणतन्त्रमा ।’ अधिकारको प्रश्नमा चम्किँने मात्र होइन, प्राप्त अधिकारको रक्षा गर्नपनि लागी पर्नुपर्ने उनको भनाई थियो ।

राजतन्त्र चिहानमा पुगिसकेकाले राजा फर्काउने मुद्दा लिएर राजनीति गर्ने पार्टीहरु नेपालमा टिक्न नसक्ने उनले दाबी गरे । ‘मरेको राजतन्त्रले फँडा उठाउन सक्दैन । मैँले अस्ति पनि भनेको छु राजाका नाममा राजनीति गर्नेहरु डाइनोसर हुन्छन् ।’ उनले भने, ‘चिहानमा आरधना गरेर राजतन्त्र फर्किनेवाला छैन । संसारको नियम नै छ, अगाडि बढिसकेको समाज पछाडि फर्किन जान्दैन ।’

राजा बन्ने प्रक्रियामाथि प्रश्न गर्दै उनले भने, ‘अन्त त तपाईहरु संस्कार, मर्यादा र योग्यता पनि चाहिने भन्नुहुन्छ । तर, हामीले कसैको कोखबाटै कोही महान बनेर आउने पाखण्डी सिद्धान्तलाई अस्वीकार गरेर गणतन्त्र ल्याएका हौँ । यो कुरा नेपाली नागरिक घाँसेले पनि बुझेको छ, दाउरेले पनि बुझेको छ ।’

वि.सं २०१७ सालको जसरी राजतन्त्र फकाउने सपना नदेख्न उनले चेतावनी दिए । ‘१७ सालको जस्तो नसोचे हुन्छ । समाज कहाँबाट कहाँ पुगिसक्यो । समाज नै अर्कै छ । चेतना नै अर्कै छ ।’

लोकतन्त्रको रक्षाका लागि सबैले एक ठाउँमा उभिनुपर्ने उनले बताए । ‘लोकतन्त्र सरकारको मात्रै हो र ? नेपाली जनताले लडेर ल्याएको हो । लाकतन्त्र सबैको हो भने दाउपेचको कुरा नगरौँ’ उनले भने । विदेश नीति, विकासका सन्दर्भमा सबै एक हुनुपर्ने बताए ।