काठमाडौँ – नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईले मन्त्रालयका कतिपय विवादित विषयलाई बाहिर ल्याउने घोषणा गरेका छन् ।


ADVERTISEMENT


बिहीबार बिहान तत्कालीन एमालेको पार्टी कार्यालय बल्खुस्थित मदन भण्डारीको शालिकमा माल्यार्पण गरेपछि पत्रकारसंग बोल्दै मन्त्री भट्टराईले सञ्चारमाध्याममार्फत मन्त्रालयका विवादित विषयहरु बाहिर ल्याउने बताएका हुन् । ‘अहिले म मन्त्रालयको जिम्मेवारीमा आएको केही घण्टामात्रै भएको छ । अहिले नै सबै कुरा म बताउन सक्दिँन ।’ उनले भने, ‘केही दिनपछि मन्त्रालयका काम कारबाहीका बारेमा, विवादास्पद कतिपय विषयहरुको बारेमा र हामीले लिनुपर्ने निर्णयका बारेमा सञ्चारमाध्याममार्फत जनतालाई बताउँछु ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीले बुधबार नै मन्त्रीहरुसंग कार्यसम्पादन करार सम्झौता गरेको स्मरण गर्दै उनले मन्त्रालयमा आफूले काम गर्न नसकेमा मन्त्री पद त्याग गर्ने घोषणा गरे । ‘हिजो मैँले उहाँसंग सम्झौता गर्न सकिँन । अब केही दिनभित्रै गर्छु ।’ उनले भने, ‘मेरो सबैभन्दा ठूलो सम्झौता यही हुन्छ कि जुन दिन मैँले काम गर्न सकिँन वा म असफल भएँ वा मैँले काम अगाडि बढाउन सकिँन भन्ने प्रधानन्त्रीलाई महसुस भएमा म त्यही दिन पछाडि हट्नेछु ।’

उनले सरकारको सुखी नेपाली र समेद्ध नेपालको लक्ष्यलाई पूरा गर्नका लागि पर्यटन प्रर्वद्धनको माध्यामबाट नेपालको पर्यटनलाई मजबुद बनाउनु, पर्यटनमा राष्ट्रिय र विदेशी पूँजीजलाई प्रोत्साहन दिनु र नेपाललाई एउटा विश्वकै आकर्षक पर्यटन गन्तव्यका रुपमा विकास गर्नु आफ्नो लक्ष्य रहेको बताए । ‘सायद प्रधानमन्त्रीले दिने करार वा निर्देशन पनि त्यही हुन्छ र म त्यही अनुसार काम गर्छु’ मन्त्री भट्टराईले भने ।

आफ्नो पहिलो चुनौति भनेकै ‘भ्रमण वर्ष २०२०’लाई सफल तुल्याउनु रहेको भन्दै उनले अब मन्त्रालयका कामहरु एकदमै द्रुत गतीमा अगाडि बढाउने बताए । मन्त्री भट्टराईले भने, ‘झण्डै ६ महिना मन्त्रालय नेतृत्वबिहीन हुँदा यसले गति लिन सकेन । अब हामी त्यो रोकिएको समयको परिपूर्ति गर्नका लागि पनि यसलाई तीव्र गतिमा अगाडि बढाउँछौँ ।’

उनले भ्रमण वर्षालाई नै लक्षित गरेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताए । यस्तै निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका बाधा अवरोध पनि हटाउने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘सबै राजनीतिक दल र सम्बन्धित निकायसंग सहमति जुटाएर हामी त्यसलाई अगाडि बढाउँछौँ ।’ उनले केही दिनभित्र आफूले मन्त्रालयले गर्ने प्रतिवद्धतापत्र पनि सार्वजनिक गर्ने बताए ।

गत फागनुमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनापश्चात मृत्यु भएपछि पर्यटन मन्त्रालय झण्डै ६ महिना नेतृत्वबिहीन भएको थियो । मन्त्रालयको जिम्मेवारी स्वयम् प्रधानमन्त्रीले लिएपनि काम प्रभावकारी हुन सकिरहेको थिएन । भट्राई बुधबारमात्रै पर्यटनमन्त्रीमा नियुक्त भएका थिए ।