काठमाडौँ – बंगलादेश–नेपाल मित्रता कला प्रदर्शनी मंगलबारदेखि काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको प्रदर्शनी हलमा सुरुवात भएको छ । एक समारोहका बीच नेपालका लागि बंगलादेशकी राजदूत माश्फी बिन्ते शाम्सले बन्धुत्व शीर्षकमा आयोजित कला प्रदर्शनीको उद्घाटन गरेकी हुन् ।


ADVERTISEMENT


उद्घाटनपछि राजदूत शाम्सले यस प्रदर्शनीले नेपाल र बंगलादेशबीचको मित्रता अझ प्रगाढ र दरिलो बनाउने विश्वास व्यक्त गरिन् । भाषा, संस्कृति र कलाको सन्दर्भमा दुबै देश अत्यन्तै नजिक रहेको बताउँदै उनले दुई मुलुकबीचको सांस्कृतिक र सामाजिक सम्बन्ध प्रगाढ बनाउने यस्ता कलात्मक गतिविधिले भविष्यमा पनि निरन्तरता पाउनुपर्ने धारणा राखिन् ।


ADVERTISEMENT

# # #


यस्तै विशिष्ट अतिथिको रुपमा मन्तव्य राख्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाल र बंगलादेशका कलाकारहरु सम्मिलित कला प्रदर्शनीको सफल आयोजनाका लागि आयोजक संस्था बंगलादेशको चारुर मित्र कलाकार समूहलाई हार्दिक धन्यवाद दिए। कुलपति कर्माचार्यले यस प्रर्दशनीले दुई देशका कलाकारहरुबीच कलासम्बन्धी ज्ञान, सीप र अनुभव आदानप्रदान हुने विश्वास व्यक्त गरे ।

उद्घाटन समारोहको अध्यक्षता गरेका बंगलादेशी कलाकार एवम् चारुर मित्र कलाकार समूहका संयोजक तैमुर हन्नानले नेपाल र बंगालदेशका कलाकारहरु सम्मिलित यो प्रदर्शनीको सफलताले आफूलाई सन्तोष र थप उत्साह मिलेको बताए । यस प्रदर्शनीको सफलताबाट उत्साहित भएर आफूले नेपाल, बंगलादेश र भारतका कलाकारहरु सम्मिलित अर्को कला प्रदर्शनी आयोजना गर्ने र त्यो त्रिदेशीय प्रदर्शनी भारतको नयाँ दिल्लीमा हुने उनले उद्घोष गरे । सो अवसरमा प्रदर्शनीकी संयोजक रञ्जु यादवले स्वागत मन्तव्य राखेकी थिइन्।

चार दिवसीय प्रदर्शनीमा नेपालका ११ र बंगलादेशका १२ जना कलाकारका कलाकृति प्रदर्शित छन् । प्रर्दशनीमा नेपाली कलाकारहरु अनुराधा थापा, भुवन थापा, किशोर नकर्मी, कान्छाकाजी भासिमा, लक्ष्मण मण्डल, ओम खत्री, पुनम कुमारी दास, मिथिला देवी यादव, रञ्जु यादव, एससी सुमन र सुष्मा राजभण्डारीका कलाकृति सहभागी छन् ।

यस्तै, बंगलादेशी कलाकारहरु अमजद आकाश, फरिहा बिन्ता खैर, दिलसाद पठान, इमाम हुसैन सुमन, लक्की ओस्मान, मैदुल इस्लाम खान, मोहसिन कबिर, नज्मा अख्तर, शबनम चौधरी, सिग्मा हक अंगकान, सुनन्दा रानी बर्मन र तैमुर हन्नानका कलाकृति प्रदर्शनीमा राखिएका छन् ।
साउन १७ गते शुक्रबारसम्म चल्ने प्रदर्शनीमा सहभागी हुन पाँच जना बंगलादेशी कलाकार काठमाडौं आएका छन् ।