काठमाडौं – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नम्बर २ को मन्त्रिमण्डल तत्काल पुनर्गठन नहुने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले सरकार पाँच वर्षको लागि बनेकोले तत्काल यसको विकल्प नरहेको बताए । उनले भने, ‘यो सरकार पाँच वर्षसम्मको लागि हो, यसको अहिले कुनै विकल्प छैन् । तत्काल मन्त्रिमण्डल पूनर्गठन हुँदैन् ।’


ADVERTISEMENT

# # #


बरु उनले अब सरकारले काम गर्ने शैली बदल्ने दाबी गरे। ‘पहिलो वर्ष हामीले अनुभव हाँसिल गरेका छौं । अब अर्को वर्ष हामी राम्रो काम गर्छौं ।’ उनले भने, ‘हामी बडो ईमानदारिताका साथ काम गर्छौं ।’ उनले संघीयताको मूल मर्म र भावनाअनुसार सबै निकाय चल्नुपर्नेमा जोड दिए ।

यस्तै उनले २ नम्बर प्रदेशका बाढी र डुवानबाट प्रभावितहरुलाई अझै राहत तथा पुनर्स्थापना नभएको गुनासो पोखे । उनले भने, ‘२ नम्बर प्रदेश बाढि र डुवानबाट प्रभावित बनेको छ । ८ वटै जिल्ला प्रभावित बनेका छन् । अझैपनि राहत पुगेको छैन् ।’

प्रदेश २ सरकारले आफ्नो क्षमता र स्रोतले भ्याएसम्म तुरुन्तै राहत पुर्याएको दाबी गर्दै मुख्यमन्त्री राउतले अहिले पनि प्रदेश सरकार प्रभावित जिल्लामा पुगेर राहत पुर्याउने काममा लागिरहेको सुनाए । नेपालले आफ्नो तर्फबाट बनाउनुपर्ने तटबन्ध लगायतका कामहरु नगरेको कारण बाढि तथा डुवानको समस्या आएको उनको भनाइ थियो ।

‘लालबकैया, बाग्मती, रातु, कमला र त्रियुगा नदि आसपासमा तटबन्ध बनाउनुपर्ने काम हामीले बनाएनौं । २०४६ साल यता अहिलेसम्म भएका तटबन्धहरुको कुनै ममर्तसम्भार भएको छैन् ।’ उनले भने, ‘एकैचोटी पानीको बेग आउँदा थेग्नै सक्दैन् । र, अहिले यो समस्या आएको हो ।’चुरे दोहनका कारण अहिलेको समस्या आईपरेको उनको टिप्पणी छ ।

आफूले प्रधानमन्त्री ओलीसँगको भेटवार्तापनि तटबन्धहरुको म्यापिङको लागि आग्रह गरेको सुनाउँदै उनले बाढी, पहिरो र डुबानका समस्यालाई दिर्घकालिन रुपमा हल गर्न नसके समृद्धिको नारा सफल नहुने बताए ।