काठमाडौं – राजपा नेपालका अध्यक्ष मण्डलका नवनियुक्त संयोजक राजकिशोर यादवले सरकारले भोलिसम्म सर्लाहीमा संविधानको बर्खिलापमा गैरन्यायिक हत्या भएको र उक्त प्रकरणबारे संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले सर्लाहीमा भएको हत्या प्रकरण गैरन्यायिक र संविधानको बर्खिलापमा रहेको दाबी गरे । ‘हामीले सदनभित्र यो हत्या प्रकरणको बारेमा सत्य, तथ्य छानबिन हुनुपर्छ भनेर आवाज उठाईरहेका छौं ।’ उनले भने, ‘तर, अहिलेसम्म सरकारले संसदीय समिति गठन गरेको छैन् । भोलिसम्म पनि समिति गठन नगरे हामी भोलि बस्ने सदनपनि अवरुद्ध गर्छौं ।’


ADVERTISEMENT

# # #


संयोजक यादवले तत्काल संसदीय समिति गठन गर्नुपर्ने आफूहरुको अडान कायमै रहेको सुनाए । यस्तै उनले यादवले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् । उनले भने,‘हामी पार्टीको महाधिवेशन निर्धारित मिति कात्तिक २८, २९ र ३० गते नै गर्छौं । हाम्रो मुख्य ध्यान नै त्यतातर्फ छ ।’

आफूले महाधिवेशनको मुखमा पार्टी नेतृत्वको जिम्मेवारी पाएकोले महाधिवेशनको वातावरण निर्माण गरेर सफल तुल्याउने मुख्य काम रहेको पनि यादवले सुनाए ।

वर्तमान सरकारसँग देश र जनताको हित र पक्षमा काम गर्नसक्ने अवसर रहेको पनि त्यसलाई सदुपयोग गर्न नसकेको उनको आरोप छ । ओली सरकार कसै न कसैको घेराबन्दीमा परेको दाबी गर्दै उनले भने, ‘सबै मोर्चामा यो सरकार असफल छ ।’ देशमा बाढी पहिरोको त्रास बढिरहेपनि सरकारी तर्फबाट त्यसको कुनै दीघकालीन रोकथाम गर्न पहल नगरेको भन्दै उनले असन्तुष्टि जनाए ।

यादवले वर्तमान सरकार मनोमानी र एकलौटी ढंगले अगाडि बढेकोले लोकतन्त्रको सवालमा, जनताको जनजीवीकाको सवालमा, शान्ति र सुशासनको सवालमा, सुशासनको सवालमा कांग्रेससँग एक ठाउँमा रहने बताए ।

यस्तै उनले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपाललगायतका साना दलहरुसँग पनि एकताको लागि कुराकानी भइरहेको जनाए । यद्धपी मिडियामा हल्ला भएजस्तो समाजवादी पार्टीसँग एकताबारे औपचारिक वार्ता तथा सहमति नभएको पनि यादवले जिकिर गरे ।