रामचन्द्र पाण्डे, काठमाडौँ – सोमबारदेखि टी–२० विश्वकप छनोटको एशिया छनोट फाइनल सिंगापुरमा सुरु हुँदैछ । जसमा आयोजक सिंगापुरसंगै मलेसिया, कुवेत, कतार र नेपालले सहभागिता जनाउँनेछन् । पाँच राष्ट्र सम्मिलत  प्रतियोगितामा नेपाल प्रमुख दाबेदार टिमका रुपमा रहेको छ ।


ADVERTISEMENT


प्रतियोगिताको विजेता टिम यही अक्टोबरमा युएईमा हुने विश्वकप छनोटका लागि छानिनेछ । १४ टिमले सहभागिता जनाउने उक्त प्रतियोगिताका उत्कृष्ट ६ टिमले सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछन् । एशियामा छनोटमा भिड्ने टिममध्ये नेपाल सबैभन्दा बलियो टिम हो । नेपाल अहिले टी-२० अन्तर्राष्ट्रिय वरियतामा ११ औँ स्थानमा रहेको छ । यस्तै कतार २१औं,सिंगापुर २३औं, कुवेत २८औं र मलेसिया ३५औं वरीयताक्रममा रहेका छन् ।


ADVERTISEMENT

# # #


यस हिसाबले प्रतियोगितामा सहभागी अन्य  टिम नेपालको स्तरका टिम होइनन् । त्यसैले सजिल्यै जित हासिल गर्ने अनुमान गर्न सकिन्छ । तर, टी-२० क्रिकेट फरक संरचनाको खेल भएकाले जुनसुकै राष्ट्रलाई पनि कमजोर आँकलन भने गर्न मिल्दैन ।

नेपालले अभ्यासस्वरुप केही दिनअघि मात्रै ३५ औँ वरियतामा रहेको मलेसियासंग दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । जसमा पहिलो खेलमा सहजै जित हात पारेपनि दोस्रो खेलमा भने मलेसियाले राम्रै चुनौति दियो ।नेपालले  १७४ रनको चुनौति दिँदापनि मलेसिया मात्र ६ रनले हारेको थियो । यस्तै सिंगापुरलाई घरेलू मैदानको फाइदा हुनेछ । उसले केही विदेशी खेलाडी पनि आफ्नो टिममा ल्याएकाले सिंगापुर पनि प्रतियोगिताको अर्को बलियो टिम बनेको छ ।

सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी-ट्वान्टी विश्वकपमा नेपालले पहिलो पटक सहभागिता जनायो । त्यसपछि २०१६ मा भारतमा भएको टी-२० विश्वकपमा भने नेपाल छनोट हुन असफल रह्यो । अहिले नेपालसामू पुनः विश्वकपमा पुग्ने एउटा अर्को अवसर छ । प्रतियोगितामा सहभागी टिममध्ये नेपालमात्रै यस्तो टिम हो जोसंग टी-२० विश्वकप खेलेको अनुभव छ । त्यसकारण नेपालीसामू जित र विश्वकपको ‘ग्लोबल’ छनोटमा स्थान बनाउनु बाहेक अन्य विकल्प छैन ।

बलियो पक्ष

पारसको ब्याटिङ

नेपाली टिममा कप्तान पारसको प्रदर्शन जहिल्यै निर्णयक हुँदै आएको छ । जुन सन् २०१८ मा भएको एशिया कपको छनोट र युएईविरुद्धको सिरिजलाई हेरे पुग्छ । पारस नचल्ने हो भने नेपाली इनिङ धर्मराइरहेको हुन्छ ।

नेपाली टिमको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहँदै आएका पारस अहिले निकै लयमा रहेका छन् । पछिल्लो समय टी-२० मा नेपालका लागि ओपनिङ ब्याटिङ गर्दै आएका पारसले मलेसियाविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । मलेसिया विरुद्ध पहिलो खेलमा पारसले ५० बलमा ८६ रन हानेका थिए । जुन टी-२० अन्तर्राष्टियमा नेपालको सर्वाधिक स्कोर हो । सिंगापुरमा पनि पारसले आफ्नो लयलाई निरन्तरता दिने अपेक्षा टिमले गरेको छ ।

शरदको पुनरागमन

शरद भेषवाकर सन् २०१४ मा नेपाललाई पहिलो पटक विश्वकप खेलाउँदाका नायक मानिन्छन् । बिरामी र चोटग्रस्त बनेपछि लामो समयदेखि टिमबाहिर रहेका उनले पुनरागमन गरेका छन् । उनको पुनरागमनले नेपाली मिडिल अर्डर ब्याटिङलाई थप मजबुद बनाएको छ । मलेसियाविरुद्धको सिरिजमा दुबै खेलमा संयममित भएर खेलेका उनले उत्कृष्ट साझेदारी गर्दै जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

बलिङ सँधै उत्कृष्ट

नेपालको सबैभन्दा बलियो पक्ष बलिङ मानिन्छ । यस पटक पनि बलिङ नेपालको प्रमुख हतियार हुनेछ । नेपालसंग आइपीएल, बीबीएल लगायत विश्वभरका फ्रन्चाइज टिममा सहभागिता जनाएर अनुभव हासिल गरेका युवा स्टार स्पिनर सन्दीप लामिछाने छन् । सिंगापुरको स्पिनमैत्री पिचमा उनी आफ्नो लेगस्पिनको जादू नदेखाउलान् भन्न सकिन्छ । यसअघि मलेसियामा भएको एशिया पूर्वी क्षेत्रमा २४ विकेट लिएर कीर्तिमान राखेका सन्दीप विपक्षी टिमको टाउको दुखाइको विषय बन्ने पक्का छ । उनलाई भेट्रान स्पिनर वसन्त रेग्मी र ललित नारायण राजवंशीले साथ दिनेछन् ।

यस्तै पछिल्लो समय आफूलाई अलराउण्डर बनाउने प्रयास गरिरहेका सोमपाल कामी र करण केसीले तीव्र गतिको बलिङको नेतृत्व गर्नेछन् । आफ्नो डेब्यू (युएईविरुद्धको सिरिज) प्रतियोगितामा नै ‘म्यान अफ दि सिरिज’ भएका अभिनाश बोहरा पनि मध्यम गतीको बलिङ गर्ने गर्छन् । डेथ ओभरमा राम्रो गर्दै आएका उनी नेपालका लागि महत्वपूर्ण हतियार बन्नसक्छन् ।

बिनोदको फिनिसिङ

विकेट किपर ब्याट्सम्यान विनोद भण्डारीले पछिल्ला खेलमा तल्लो क्रममा विष्फोटक ब्याटिङको भूमिका निभाउँदै आएका छन् । त्यसमा उनी सफल पनि भएका छन् । मलेसियाविरुद्धको पहिलो खेलमा पालो नआएपनि उनले दोस्रो खेलमा २५ बलमा नै अर्धशतक हानेर नेपाललाई ठूलो स्कोरसम्म पुर्याएका थिए । उक्त खेलमा उनले कप्तान पारसको रेकर्ड तोड्दै टी-२० अन्तर्राष्ट्रिय खेलमा छिटो अर्धशतकको कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । विनोदको लयले नेपालका लागि महत्वपूर्ण भूमिका खेल्नेछ ।

कमजोर पक्ष

ओपनिङको चिन्ता

नेपालको लागि टी-२० होस् वा एक दिवसीय, जहिले पनि ओपनिङ प्रमुख चुनौतिका रुपमा रहँदै आएको छ । निरन्तर ओपनिङ जोडी परिवर्तन प्रयोग गर्दा पनि कुनैमा सफलता हात पर्न सकेको छैन । पछिल्ला टी-२० खेलमा कप्तान पारस नै ओपनिङमा आउने गरेका छन् ।

मलेसियाविरुद्धको टी-२० सिरिजमा पारसले ओपिनिङमा आएर राम्रो खेले । तर उनलाई साथ दिन आएका प्रदीप ऐरी र पवन सरार्फले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । पहिलो खेलमा प्रदीपले पारससंग ओपनिङ गरे । तर, ८ रन भन्दा बढी जोड्न सकेनन् । यस्तै दोस्रो खेलमा पारससंगै ओपनिङ गरेका पवन नेपालले ३४ रन बनाउँदा व्यक्तिगत १० रनमा रनआउट हुन पुगेका थिए । यस प्रतियोगितामा पनि नेपालको ओपनिङ कमजोर हुनसक्छ ।

‘आउट अफ फर्म’ ज्ञानेन्द्र मल्ल

पछिल्लो समय नेपाली टिममा एकदिवसीयमा ओपनिङ सम्हाल्दै आएका ज्ञानेन्द्र मल्लले लय गुमाएका छन् । उनी ‘फर्म’ नहुनु नेपाली टिमका लागि टाउको दुखाइको विषय भइरहेको छ । तेस्रो नम्बरमा ब्याटिङमा आउने ज्ञानेन्द्र नचल्ने हो भने टिमलाई ठूलो असर पर्न सक्छ ।

ज्ञानेन्द्र मल्लको पछिल्लो पाँच खेलमात्रै हेर्नेहो भने गत जनवरीमा युएईविरुद्धको सिरिजको तेस्रो टी-२० खेलमा हानेको ११ रन उनको उच्च स्कोर हो । पछिल्ला पाँच खेमा उनले क्रमशः ७, ७, ११, ७, ७ गरी ३९ रन हानेका छन् । यद्दपी लयमा आउनका लागि ज्ञानेन्द्र मल्ललाई यो प्रतियोगिता सुनौलो अवसर हुनेछ ।

नेपालको खेल तालिका

साउन ७ गते : विरूद्ध कतार
साउन ८ गते : नेपालविरूद्ध मलेसिया
साउन ११ गते : नेपालविरूद्ध कुवेत
साउन १२ गते : नेपालविरूद्ध सिंगापुर

नेपालको टिम

पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, वसन्त रेग्मी, शरद भेषवाकर, विनोद भण्डारी, प्रदीप ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, अभिनाश बोहरा र पवन सर्राफ ।

प्रशिक्षक
उमेश पटवाल

टेक्निकल एनालिस्ट
रमन शिवाकोटी

फिजियो
दिनेश भट्ट