काठमाडौं – प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् ।


ADVERTISEMENT


महानगरीय अपराध महाशाखा, टेकुको टोलीले लामालाई विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट रातको साढे १२ बजे पक्राउ गरेको हो । महाशाखाका प्रमुख सहकुल थापालेका अनुसार लामासँगै रेशम तामाङ पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट चारवटा मोबाइल र विप्लव समूहको दस्तावेज बरामद भएको एसएसपी थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


काठमाडौंलगायत ठाउँमा बम विष्फोटको घटनामा निर्देशन दिन लामाको भूमिका रहेको प्रहरीको दाबी छ। राजधानीको विभिन्न ठाउँमा बम विष्फोटको घटना भएपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो।

काठमाडौं सीतापाइलामा बस्दै आएका लामा विप्लव समूहको एक प्रभावशाली नेता हुन् । २०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट चुनाव लडे पनि पराजित भएका थिए । उनी काठमाडौं क्षेत्र नम्बर ९ बाट कांग्रेस नेता ध्यानगोविन्द रञ्जितसँग २ सय ९ मत अन्तरले पराजित भएका थिए ।

लामा तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्षसमेत थिए । तर, पार्टी बिभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए ।

माओवादी जनयुद्धको क्रममा उनका हातका केही औंलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ । उनले सयौं क्रान्तिकारी गीत गाएका छन्, संगीत दिएका छन् र लेखेका पनि छन् । उनले संगीत दिएका धेरै गीतहरुमध्ये नेत्रविक्रम चन्द ९विप्लव०को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित छ ।