सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका सहसंयोजक रमेश पौडेल संग गरिएको छोटो कुराकानी ।


ADVERTISEMENT


युवा संघ नेपाल र वाइसीएलको एकता पछि युवा संघको गति कसरी अगाडि बढिरहेको छ ?


ADVERTISEMENT

# # #


जेठ ३ गते युवा संघ नेपाल र वाइसीएलको एकताको घोषणा गर्दै संगठनको नाम युवा संघ नेपाल राखेर संयोजकमा रामप्रसाद सापकोटा (दीपशिखा) र सहसंयोजकमा रमेश पौडेल हुने भनेर पार्टीले घोषणा गर्यो । त्यसपछि हामीले अनौपचारिक रुपमा निकै छलफल र बहस गर्यौं । तर मेरा मित्र दीपशिखाले नाम पनि युवा संघको, झण्डा पनि युवा संघको भएकाले सल्लाह गरौँ भन्ने कुरा राख्नु भएको छ । सबै मनोविज्ञानलाई पनि मिलाउनु पर्छ भन्ने उहाँको प्रस्ताव छ । तर, पार्टीले घोषणा गरेको कारणले हामी नाम चलाउने हैसियतमा छैनौँ । यसलाई पार्टीबाटै निष्कर्षमा पुर्याउनुपर्छ भनेर कुराकानी भएको छ । युवासंघलाई नै साझा नाम राखौँ भन्ने मेरो प्रस्ताव हो । युवासंघका अघि राष्ट्रिय थप्ने कि भन्ने कुरा पनि आएको छ । यसमा पनि छलफल गर्न सकिन्छ । हामीले समाजवादको यात्रा तय गर्नुछ । त्यसका आधारहरु बनाउनु छ । त्यसकारण सामान्य मनोविज्ञानका विषय बनाउनु हुँदैन भन्ने मेरो आग्रह छ । छलफल मार्फत सबैलाई व्यवस्थापन गर्नेगरी अगाडी जानुपर्छ । अन्य कामहरु त भइ नै रहेका छन् ।

पार्टी एकता गर्दा अध्यक्षद्वयले पार्टीलाई अन्तर्घुलित गराउँछौँ भन्नु भएको थियो । युवा संघलाई अन्तर्घुलित गर्न कत्तिको सहज छ ?

हामी हिजो दुईवटा मनोविज्ञान, दुईवटा भाव धारा, दुईवटा आन्दोलनबाट आएका मान्छेहरु हौँ । भलै दुबै संगठनले मार्क्सवाद, लेलिनवादलाई मान्दथे । तरपनि, एकताका लागि त्यती सजिलो थिएन । हाम्रा कार्यदिशा र कार्यशैलीहरु फरक थिए । शसस्त्र जनयुद्धको जगबाट माओवादीले आफूलाई विकास गर्यो । हामीले शान्तिपूर्ण रुपमा समाजवादका आधारहरु तयार गर्दै समाजको रुपान्तरण सम्भव छ भनेर हामीले जनताको बहुदलीय जनवादको मार्गदर्शनलाई आत्मसाथ गर्दै पार्टीलाई अगाडि बढायौँ । अब पार्टीले यी बहसका विषय छिट्टै टुंगाउने छ भन्नेमा म आशावादी छु । जहाँसम्म हाम्रो अन्तर्घुलितको प्रश्न छ, एउटै ठाउँमा उभिएपछि या एउटै घरमा बसेपछि या एउटै ओच्छ्यानमा सुतेपछि लातहरु वा खुट्टाहरु लाग्न सक्छन् । मनवमटाव पनि हुनसक्छ । तर, यसले सम्बन्धमा दरार ल्याउँदैन । एउटा क्रममा एकता भइसक्यो । अब छुट्याउन सकिँदैन ।

पछिल्लो समय पार्टीकै नेताहरुले पनि सरकारको विरोधमा बोलिरहेका छन् । यस्तो अवस्थामा सरकारको कामको गतिलाई युवासंघले कसरी हेरिरहेको छ ?

अहिले सबैतिरबाट प्रधानमन्त्री ओली नेतृत्वको सरकालाई घेराबन्दी गरिएको छ । देशी, विदेशी, पार्टीभित्रबाट घेरा हालेर एक्ल्याउन लागेका छन् । यसको कारण के हो भने मुलुकले अब गतिलिने भयो, मुलुक समृद्ध हुने भयो र यो समृद्धिको सम्पूर्ण जस सबै केपी ओलीले पाउँछ भन्ने छटपटाहट केही मान्छेहरुलाई भएको छ । त्यही भएर कम्मर कसेर सरकारलाई असफल बनाउनका लागि लाग्ने शक्तिहरु पनि छन् । अर्कोतिर नेपालले स्थिरता र समृद्धि पायो भने हामी खेलिरहन पाउँदैनौँ, हाम्रो हस्तक्षेप बाँकी रहँदैन भनेर घेरा हाल्ने काम भएको छ । हिजोको प्रतिक्रियावादी शक्तिहरु, पुनरुत्थानवादी शक्तिहरु जसलाई हामीले छेदन गरेर लोकतान्त्रिक व्यवस्था र अहिलेको गणतन्त्र ल्यायौँ । तर, उनीहरु कहिले काही सर्प मारिसकेपनि पुच्छर हल्लाएर तर्साएजस्तो गरिरहेका छन् ।

पूर्व राजा र उनका आसेपासेहरु, धार्मिक, जातीय, भेगीय अतिवादी शक्तिहरु सबैको गठजोड भएर यो सत्ता र सकरारका विरुद्धमा कसेर लागेका छन् । कहिले कसलाई उठाउने, कहिले कसलाई उठाउने गरिरहेका छन् । मुलुक बनाउने कुरामा सरकारले चालेको ‘स्टेप’ ठीक छ । कहिलेकाहीँ छलफल गर्न मानिसहरु छुटेका हुन सक्छन् । त्यसमा छलफल गर्न सकिन्छ । तर, मुलुक बन्यो भने छलफलमा छुटेकाहरुले मलाई किन छुटाइयो भनेर बुरुक्क उफ्रिँदा राम्रो देखिँदैन । मुलुक बनोस् या नबनोस् । तर मलाई मान्नुपर्छ भन्ने प्रवृत्ति गलत हो । यसलाई तोडिन्छ, तोड्नुपर्छ ।

यो बेलामा युवाहरुको भूमिका के हुन्छ ?

सरकारका कामहरुमा हामी युवाहरुलाई निरन्तर जोडिरहेका छौँ । भर्खरै हामीले बृहत्त रुपमा वृक्षारोपण गरेका छौँ । यो अभियान जारी नै छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा युवाहरुलाई परिचालित गरिएको छ । अन्य विभिन्न माध्यमबाट पनि युवाहरु परिचालित भइरहेका छन् । अहिले बजेट नै युवामैत्री बनेको छ । नेपालको आर्थिक वृद्धिदर अहिले ६.२ प्रतिशत रहेको छ । आगामी वर्ष ७.१ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर विश्व बैँकले प्रक्षेपण गरेको छ । चीनको अहिले आर्थिक वृद्धिदर ६.५ र भारतको ६.७ प्रतिशत छ भने हाम्रो ६.२ प्रतिशत रहेको छ । भारत र चीनकै हाराहारीमा हाम्रो आर्थिक वृद्धिदर भइरहेको छ । युवाहरु युरोप जान पाए हुन्थ्यो भनेर प्रत्येक दिन लाइन लागेको देख्छु । त्यहाँ आर्थिक वृद्धिदर १, २ वा ३ प्रतिशतमा सीमित छ । यसले के देखाउँछ भने मुलुकलाई दोहारो अंकको आर्थिक वृद्धिमा लिएर जान सकिन्छ ।

व्यापक रुपमा पूर्वाधारहरु बनिरहेका छन् । भ्रष्टाचार पहिले भन्दा घटेको छ । यो रातारात भएको होइन । विकास र समृद्धिका लागि केही समय लाग्छ । पूराना पाठपूर्जालाई मर्मत गर्दै गाडी अगाडि बढाउँदा केही समय त लाग्छ नै । अहिले हाम्रा युवाहरु सेतो छाला भएकाहरुका देशमा काम गर्न गइरहेका छन् । एकदिन यस्तो आउनेछ, जतिबेला हाम्रा चौरी खर्कमा, हाम्रा रेस्टुरेन्टका वेटरहरुमा ती सेतो छाला भएका मान्छेहरु हुनेछन् र हामी दुनियाँमा अत्यन्त समृद्ध देशका नामले चिनिनेछौँ । त्यो आत्मविश्वासका साथ काम गर्नुपर्छ । जुन अहिलेको सरकारले गरिरहेको छ । हामीले अहिले सरकारलाई साथ दिनुपर्छ ।