काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएका कतिपय विधेयकविरुद्ध सडकमा आन्दोलन गर्दा त्यसलाई ‘लोकतन्त्र विरोधी’को संज्ञा दिनु आपत्तिजनक भएको बताएको छ । यस्तै कांग्रेसले प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा ‘प्रधानमन्त्रीको लाचार छायाँ’ को भूमिका प्रस्तुत भएको भन्दै असन्तुष्टि जनाएको छ ।


ADVERTISEMENT


संसदमा बोल्न नपाएपछि प्रधानमन्त्रीले सिंहदरबारमा पत्रकार सम्मेलन गरेलगत्तै कांग्रेसले एक विज्ञप्ती निकाल्दै प्रधानमन्त्रीको पत्रकार सम्मेलनबारे बोलेको हो ।


ADVERTISEMENT

# # #


‘हिजो निर्वाचनमा मत दिई रहँदा तिनै नागरिक ‘महान्’ आज विरोधमा उभिंदा लोकतन्त्र विरोधी ?’ कांग्रेसले भनेको छ, ‘नेपाली कांग्रेस उहाँलाई स्मरण गराउन चाहन्छ सडकमा प्रस्तुत विरोधको आवाज होइन गुठीको विधेयक चाहि लोकतन्त्र, परम्परा र संस्कृतिको विरुद्धमा छ । मिडिया काउन्सील लगायतका पछिल्ला विधेयकहरु संविधानको भावना प्रतिकूलमा छन् र लोकतान्त्रिक मूल्य एवं जनभावना विरुद्धमा छन् ।’

कांग्रे प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘प्रतिनिधिसभाका सम्माननीय सभामुखबाट फेरी पनि ‘प्रधानमन्त्रीको लाचार छायाँ’ को भूमिका आज प्रस्तुत हुनु अत्यन्तै दुःखद त छ नै सम्माननीय प्रधानमन्त्रीबाट पत्रकार सम्मेलन मार्फत कतिपय विधेयक विरुद्धको सडकका आवाजहरुलाई ‘लोकतन्त्र विरोधी’ को संज्ञा दिनु झनै आपत्तिजनक छ ।’

यस्तै प्रमुख प्रतिपक्षी दलका नेताहरुले मंगलबार संसदमा प्रधानमन्त्री भन्दा पहिले बोल्ने चाहना राख्नु स्वभाविक रहेको कांग्रेसको ठहर छ । ‘केहि समय यता संसद र सडकमा सरकारद्वारा प्रस्तुत गुठी र मिडिया काउन्सील लगायतका विधेयकहरु विरुद्ध व्यापक आवाज उठिरहेको सन्दर्भमा आज संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्नु पूर्व प्रतिपक्षी नेताले ती विषयहरु उपर आम नागरिकको भावना राख्न चाहनु विल्कुलै स्वभाविक थियो’ विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित समाचार
– कांग्रेसद्वारा संसदमा हंगामा, प्रधानमन्त्रीले बोल्न पाएनन्
– देउवाको प्रश्न : प्रधानमन्त्रीले जवाफ दिने हो, सुरुमा कहाँ बोल्छन् ?
– सरकारले फिर्ता लियो गुठी विधेयक
– पत्रकार सम्मेलनमा प्रधानमन्त्री : देउवासमेत वेल घेर्न गएको देख्दा आश्चर्यचकित भएँ

विधेयकहरुका विरुद्ध देशव्यापी रुपमा भइरहेका विरोधका स्वरहरुलाई विधिवत रुपले प्रतिपक्षी नेताले संसदमा प्रविष्ट गराउनु लोकतान्त्रिक र व्यवहारिक रहेको कांग्रेसले बताएको छ ।

सभामुखले बैठक अघि नबढाई सोझै प्रधानमन्त्रीलाई बोल्न निम्त्याएर प्रतिपक्षी स्वरलाई निषेध गर्ने प्रपञ्च गर्दा संसदमा द्वन्द्व हुनु स्वभाविक रहेको कांग्रेसले बताएको छ । ‘प्रधानमन्त्रीको दम्भ र सभामुखको सन्तुलन क्षमता गुमाइसकेको अयोग्यताको परिणाममा आजको घटना भयो’ विज्ञप्तीमा भनिएको छ ।

गुठी, मिडिया काउन्सील, सूचना प्रविधि, राष्ट्रिय सुरक्षा परिषद्, मानव अधिकार आयोग, विश्वविद्यालय, सामुदायिक वन लगायतका प्रस्तावित सबै विधेयकहरु सारमा अधिनायकवाद उन्मुख आकांक्षालाई पृष्ठपोषण गर्ने मनस्थितिको जगमा कोरिएको कांग्रेसले गम्भीर आरोप लगाएको छ ।