काठमाडौं – ‘राष्ट्र बचाऔं, राष्ट्र बनाऔं’ महाअभियान नेपालका अध्यक्ष सिपी पौडेलले अहिलेको राज्यसंयन्त्र नै निकम्मा भएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अधिवक्ता समेत रहेका अध्यक्ष पौडेलले देशलाई प्रगतीतर्फ लैजानका लागि राज्यसंयन्त्रलाई पूर्ण रुपमा पूर्नसंरचना गर्न जरुरी रहेको बताए । उनले देशमा न्याय दिन बसेका व्यक्तिहरु नै घुस खोर भएको आरोप लगाए ।


ADVERTISEMENT

# # #


‘अहिलेकै संयन्त्रबाट यो देश बन्दैन । देशको अस्तित्व नै रहँदैन । देशलाई प्रगतिको पथमा डोर्याउनको लागि पनि अहिलेको राज्यसंयन्त्रलाई पूर्ण रुपमा पूर्नसंरचना गर्न जरुरी छ ।’ उनले भने, ‘घुषखोर न्यायाधीशहरुबाट जनताले के को न्याय पाउने ? अस्ति भर्खरै काठमाडौं जिल्ला अदालतका न्यायाधिशले घुस डिल भएको खबर प्रमाणसहित बाहिर आएको र प्रमाणसहित अख्तियारको फन्दामा परे ।’ उनले नेपालका न्यायाधीशहरु न्यायाधीश नभएर फैसलाधिश बनेको पनि आरोप लगाए ।

पौडेलले अख्तियार आयुक्त नै घुस लिँदालिँदै रंगेहात पक्राउ परेको घट्ना सुनाउँदै भने, ‘मुलुकमा भ्रष्टाचार रोक्ने निकायका प्रमुख पदाधिकारीहरु नै घुसखोरीमा संलग्न भएका छन् । यस्तै अख्तियारका प्रमुख आयुक्त दिपमान बस्न्यातकै सम्पत्तिको स्रोतबारे छानबिनको प्रक्रिया सुरु भएको छ । र, उहाँ विगतमा नक्कली शैक्षिक प्रमाणपत्रको विवादमा पनि मुछिनुभएको व्यक्ति हो ।’

त्यस्तै, उनले राणा शासनमा जनता बाठा हुन्छन र आफ्नो शासन समाप्त हुन्छ भन्ने डरले जनतालाई शिक्षाबाट बञ्चित गराईएको अवस्था सुनाउँदै भने,‘अहिलेका शासकहरुले शासन सत्ता आफ्नो हातबाट फुत्किन्छ भनेर यो देशमा रहेका युवा जनशक्तिहरु सबैलाई विदेश खेद्ने काम गरिरहेको छ ।’

सरकारले नागरिकताजस्तो संवेदनशील विषयमा हचुवाको भरमा काम गरेर देशलाई फिजीकरण र सिक्किमीकरण हुने अवस्थामा पुर्याएको जिकिर गरे ।

कार्यक्रममा स्वघोषित बाबा तथा माताहरुबाट पीडित महिला सीता थापाले आफूलाई व्यक्तिगत समस्या समाधान गरिदिने नाममा ठगिएको गुनासो पोखेकी छिन् । थापाकाअनुसार स्वघोषित बाबा तथा माताहरुले उपचारको नाममा ठगेर उनलाई सडकमा पुर्याईएको छ ।

उनले भनिन्, ‘म त यस्ता स्वघोषित बाबा तथा माताहरुबाट ठगिएँ, अब यिनीहरुलाई राज्यले कारबाही गर्नुपर्छ । मजस्तै अरु पनि सोझासिधा नेपाली दिदिबहिनी तथा दाजुभाईहरु नठगिउन भनेर म आज मिडियामा आएको छु ।’ पीडित थापा महाअभियानकै सहयोगमा आज मिडियामा आएकी हुन् ।