काठमाडौं । नेपाल बिद्यार्थी संघ (नेबिसंघ) केन्द्रिय समितिले सप्तरी, सिराहाका बाढी पीडित परिवार लाई ८ लाख बराबरको राहत सामाग्री बितरण गरेको छ । नेपाल बिद्यार्थी संघ प्रदेश नम्बर २ को संयोजकत्वमा आईतबार २ नम्बर प्रदेश स्थित सप्तरीको गोइठीमा आयोजित एक कार्यक्रमका बीच सो राहत सामाग्री बितरण गरिएको हो ।


ADVERTISEMENT


नेपाल बिद्यार्थी संघले पीडित बिद्यार्थीहरुलाई झोला, कापी, कलम तथा पीडित परिवारलाई प्रती परिवार एक झुल, एक १५ किलो चामल, दाल, म्याट्रेस केही थान कपडा बितरण गरेको अध्यक्ष नैनसिँह महरले हिमालय पोष्टलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


 

राहत बितरण कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं युवा नेता विश्व प्रकाश शर्माले जनताको बाँच्न पाउने नैसर्गिक अधिकार कसैले खोस्न नपाउने बताउदै नेबिसंघले मानबीय कार्य गरेर उदाहरणीय काम गरेको बताएका छन् । नेपाल बिबिध भौगलिक बिकटताको देश भएकाले बर्षातको समयमा हुने प्राकृतिक प्रकोपबाट बँच्न र बँचाउन सरकार र सम्बन्धित निकायले पूर्व तयारी गर्नु पर्ने शर्माको धारणा छ ।

राहत बितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बिद्यार्थी संघ केन्द्रिय अध्यक्ष नैन सिंह महरले बाढी पीडित परिवारलाई तत्काल प्रती परिवार २ लाख उपलब्ध गराउन माग गरेका छन् । बर्षा र बाढीका कारण बिद्यार्थी स्कुल जान र पढ्न पाउने अधिकारबाट बन्चित भएकाले तत्काल घुम्ती स्कुल तयार गरी पीडित बिद्यार्थीहरुलाई पढ्ने बातावरण मिलाउन समेत सरकार समक्ष अध्यक्ष महरको माग छ ।

नेपाल बिद्यार्थी संघ २ नम्बर प्रदेश र नेपाली कांग्रेस सप्तरीको आयोजनामा एक दिने स्वास्थ सिबिर समेत सञ्चालन भएको छ । शिविरमा ३५ सय भन्दा बढी पीडितहरुले निशुल्क स्वास्थ्य जाँच गरेका छन् ।

राहत बितरणका क्रममा काँग्रेस युवा नेता बिश्वप्रकाश शर्मा, नेबिसंघ अध्यक्ष नैनसिँह महर लगायत नेबिसंघ पदाधिकारीहरुको टोली प्रभाबित क्षेत्रमा नै पुगेको हो ।

बाढी पीडित सुभास यादब नेपाल बिद्यार्थी संघले बढी पीडित परिवारलाई गरेको सहयोग इश्वरीय कार्य भएको बताउँछन् । अहिले सम्म कुनै पनि राजनीतिक दलले सहयोग नगरिरहेको अवस्थामा नेबिसंघले सहयोग गरेर तराई मधेशका जनताको मन जित्न सफल भएको उनको भनाई छ ।

राहत बितरण तथा स्वास्थ्य शिविरको संयोजन नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष एबम दुई नम्बर प्रदेश संयोजक सञ्जय कुमार यादबले गरेका छन् ।

असारमा आएको बाढीले सप्तरीका कञ्चनरूप नगरपालिका तथा तिरहुत, रूपनी, तिलाठी कोइलाडी र कृष्णासवरण गाउँपालिकाकालगायत दर्जनौँ गाउँमा पानी पसेर डुबानमा पारेको थियो। बाढीबाट त्यहाँका करिब एक हजार ५०० भन्दा बढी घर डुबानमा परेका थिए ।

गत असार २६ गते बसेको मन्त्री परिषद्को बैठकले सप्तरीका बाढी पीडितलाई टहरा निर्माण र जस्तापाता खरिदका लागि तत्काल प्रतिपरिवार रु २५ हजार राहत दिने निर्णय गरेको थियो ।