चितवन – चितवनको भरतपुरमा धुर्मुस-सुन्तली फाउन्डेसनले बनाउने अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला बनाउन लगाएको घेरबार स्थानीयले डोजर लगाएर भत्काइदिएका छन्। कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा निर्माणाधीन रंगशालाको घेरबार बुधबार बिहान स्थानीयले डोजर लगाएर भत्काइदिएका हुन्।


ADVERTISEMENT


फाउन्डेसनले मंगलबार रंगशालाको जग्गालाई घेराबार लगाएको थियो। स्थानीय बासिन्दाले सडक निर्माणका लागि केही जग्गा छाडेर तारबार लगाउन फाउन्डेसनलाई आग्रह गरेका थिए। फाउन्डेसनले रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) आउन बाँकी रहेकोले डिपिआर आएपछि कुरा गर्ने बताएको थियो।


ADVERTISEMENT

# # #


फाउन्डेसनले लगाएको करिब पाँच सय मिटर तारबार र विश्वविद्यालयले लगाएको बारमा पनि स्थानीयले डोजर लगाएका हुन्। रंगशालाको छेउको सडक अहिले सात मिटर चौडाको छ। स्थानीयले यो सडक थप चौडा बनाउन फाउन्डेसनले कम्तिमा १० मिटर छाड्नु पर्ने माग राखेका छन्।

तीन दिनअघि भएको छलफलमा धुर्मुसले डिपिआर आएपछि जग्गाबारे निर्णय लिन सकिने बताएका थिए। तर बुधबार स्थानीयले तारबार हटाइदिएपछि विवाद लम्बिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गा रेग्मीले रंगशालाको तारबारमा डोजर लगाउनेहरूलाई नियन्त्रणमा लिएको बताए। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहितका स्थानीयले तारबारमा डोजर लगाएका थिए।