काठमाडौँ – निर्माण शुरु भएको १६ वर्षसम्म पनि मूलपानीको अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न हुनसकेको छैन । विसं २०६० पुसदेखि मैदान निर्माण शुरु भएको थियो । निर्माणले गति लिन नसक्दा मुलपानी क्रिकेट मैदान पनि दोस्रो मेलम्ची आयोजना बन्न पुगेको छ ।


ADVERTISEMENT


निर्माण शुरु भएको १६ वर्षसम्म मैदानको बीचमा पर्ने जग्गाको समस्या समेत समाधान हुनसकेको छैन । मैदानको बाहिरी पर्खालमा तारजाली हालिएको छैन । मैदान र प्यारापिटबाहिरको खाली भागमा झाडी देखिन्छ । मैदानसँगै स्थानीय कविता तिमल्सिनाको घर छ । यहाँबाट सार्ने भनी सार्वजनिक जग्गा दिने निर्णय गरिए पनि त्यो ठाउँमा यसअघि यहीँबाट मुआब्जास्वरुप रु दुई लाख लिएर हिँडेका सुकुम्वासीले कब्जा जमाएका छन् ।


ADVERTISEMENT

# # #


क्रिकेट मैदानभित्र पर्ने जग्गा निर्माण शुरु भएको नौ वर्षपछि पनि किनबेच भयो । विसं २०६९ मा किनेको जग्गामा बनेको घर अहिले हटाउन भनिएको मैदानभित्रै घर भएकी फूलमाया लामाले बताइन् ।

कित्ता नं ४०१ र ४०४ को तीन आना जग्गा मैदानमा पर्ने भएपछि घर न घाटको हुने दिन आएकामा उनले चिन्ता प्रकट गरिन् । मैदानको बीचमा ११ परिवारको ५२ आना जग्गा रहेको राष्ट्रिय खेलकूद परिषद्का तर्फबाट मूलपानीको संयोजन गरिरहेका राधाकृष्ण विष्टले बताए ।

माथिल्लो मैदानमा गतवर्ष असारमा क्रिकेट प्रतियोगिता भएको थियो । तल्लो मैदानमा आज पहिलोपटक प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । यसअघि प्रतियोगिताको पहिलो खेल मुलपानीमा नै गरेर औपचारिक रुपमा मैदानको उद्घाटन गर्ने भनिएपनि तयारी नपुगेको भन्दै प्रतियोगिता सुरु हुनु एक दिन अघिमात्रै स्थगित गरियो ।

प्रतियोगिताको तेस्रो दिन नेपाल पुलिस क्लब र कर्णाली प्रदेशको खेल यस मैदानमा तय गरिएको थियो । सबैको अपेच्छा थियो कि नेपालले आजदेखि एक अर्को नयाँ मैदान पाउनेछ । तर दुर्भाग्य, तयारी नपुगेकाले पिच खेल्न लायक नभएको भन्दै म्याट ओच्छ्याएर खेल सुरु भयो ।

एकदिवसीय मान्यता प्राप्त खेलाडी त्यो पनि राष्ट्रियस्तरको प्रतियोगिता म्याटमा खेल्नु निकै नै दुर्भाग्यको विषय भएको नेपाल पुलिसका प्रशिक्षक मनोज कटुवाले बताए । यसले नेपाली क्रिकेटलाई अझै १५ वर्ष पछाडि धकेलेको उनको भनाइ थियो ।

‘प्रधानमन्त्री कप भनेको राष्ट्रिय स्तरको सबैभन्दा ठूलो प्रतियोगिता हो । नेपालले एक दिवसीय मान्यता पाइसकेपछि यस्तो मैदानमा त्यो पनि म्याट ओच्छ्याएर खेल्नु भनेको नेपाली क्रिकेट १५ वर्ष पछाडि फर्किनु हो जस्तो लाग्छ ।’ दुःखेसो पोख्दै उनले भने, ‘एकदिवसीय मान्यताप्राप्त खेलाडी आज पनि १५ वर्ष अगाडिको अवस्थामा खेल्ने अवस्था आउनु नेपाली क्रिकेटकै दुःखद क्षण हो ।’

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले मैदानको उद्घाटन गर्ने भनी निमन्त्रणा कार्ड बाँडिए पनि नआएकामा स्थानीयवासी नवराज आचार्यले दुःख व्यक्त गरे ।

प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरी १० समूह सहभागी भएको खेलकूद परिषद्सँगको सहआयोजना समूहमा रहेको नेपालय इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत आशिष प्रसाईंले बताए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य मणिराम फुयाँलले खेलकूदमा व्यावसायिक विकास हुनुपर्ने बताए । मैदानको जग्गा शोधभर्नालगायत समस्या पनि समाधान हुनुपर्ने उनको भनाइ थियो ।

कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले नगरपालिकालाई खेलकूदको ‘हब’का रूपमा विकास गर्न लागिएको बताए । नगर क्षेत्रमा क्रिकेट मैदान, गल्फ कोर्सलगायतका महत्वपूर्ण खेलका अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुने गरेको उनले सुनाए ।

नेपाली काङ्ग्रेसका २ नं क्षेत्रीय सभापति उपेन्द्र कार्कीले २०६० पुस ९ गते साविकको मूलपानी गाविसका सबै राजनीतिक दलको सहमतिमा एशियन क्रिकेट एकेडेमी बनाउन स्थानीयवासीले सार्वजनिक जग्गा दिएको बताए । मैदानलाई अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगिता हुनेगरी विकास गर्नुपर्नेमा उनले जोड दिएका थिए । राससको सहयोगमा