बेत्रावती – चार वर्षअघि गएको ‘गोरखा भूकम्प’ पछि नुवाकोटमा विपत् प्रतिरोधात्मक संरचना बनाउने क्रममा काठैकाठ मात्र प्रयोग गरेर घर बनाउन थालिएको छ।


ADVERTISEMENT


विदुर नगरपालिका–९ जफती एवं आसपासका स्थानसहित रसुवामा समेत नयाँ घर बनाउँदा निर्माण सामग्रीको रूपमा गोब्रेसल्लाको काठ प्रयोग गरेर घर बनाउन स्थानीयवासी आकर्षित भएका छन्।


ADVERTISEMENT

# # #


भूकम्पपछिको पुनर्निर्माणमा सहयोग पुर्‍याउन आएका अस्ट्रियाली नागरिक राफायल लङ्गेहोस्र्तको नेतृत्वमा रहेको यहाँका निर्माणकर्मी सम्मिलित टोलीले स्थानीय स्रोतसाधनको प्रयोग गरेर घरको जग तहसम्म पूरा गरेपछि त्यसपछि काठैकाठ प्रयोग गरेर घर बनाएका छन्। ती घर बहुविपत् प्रतिरोधी रहेको पुष्टि गर्दै भूकम्पपीडित लाभग्राहीलाई आवास पुनर्निर्माणमा सहयोगस्वरूप सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत दिएको विनपा–९ का वडाध्यक्ष सनी चित्रकारले जानकारी दिए।

उनका अनुसार गारोमा काठमात्र प्रयोग गरेर बनाइएको घर भूकम्प र आगलागीबाट सुरक्षित रहेको भनेर इञ्जिनियरबाट सिफारिस भएकाले रु तीन लाख अनुदान उपलब्ध गराइएको छ। ढुंगा–माटोबाट बनेका परम्परागत शैलीका अधिकांश घरलाई भूकम्पले क्षति पुर्‍याएका कारण जोखिमबाट बच्न हाल नयाँ प्रविधिको रूपमा काठको प्रयोग गरेर घर बनाइएको जफतीका कृष्णबहादुर बोगटीले बताए।

उनको अनुसार जफतीको स्थानीयका केही निजी घर र स्वास्थ्यचौकी काठैकाठ प्रयोग गरेर बनाइएको छ। घरको छानामा भने टायल लगाइएको छ।

‘बसोबास गर्न स्वास्थ्यको दृष्टिकोणले ढुंगामाटो प्रयोग गरिएका घर प्रभावकारी भए पनि भूकम्पबाट जोगाउन चुनौती भएकाले काठैकाठको गारो बनाएर घर बनाएका हौं’, बोगटीले भने, ‘काठले बनाएका घर भूकम्पले सजिलै नलडाउने, जाडोमा न्यायो र गर्मीमा चिसो महशुस हुने, मुसालगायतका जीवजन्तुको प्रभाव नपर्ने देखिएको छ।’

काठैकाठको घर बनाउन प्रयोग भएका काठ भने हाल अधिकांश विदेशबाट आयात भइरहेको छ।

नेपालको उच्च भू–भागमा पाइने गोब्रेसल्ला जातको काठ ल्याएर यहाँ घर बनाउन व्यस्त अष्ट्रियाका नागरिक राफायल लङ्गेहोस्र्तले आफ्नो देशको उत्कृष्ट नमूनालाई नेपालको भूकम्पपछिको पुनर्निर्माणमा प्रयोगमा ल्याएको बताउँछन्।

निर्माणमा प्रयोग गरिने उक्त काठलाई सिजनिङ तथा प्रशोधन गरिएकाले आगो लागेमा सजिलै नसल्कने, आकर्षण एंव मौलिकपन सुहाउँदो देखिएकाले धेरैको छनोटमा पर्ने गरेको स्थानीयवासी बताउँछन्। रासस