काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा गृहमन्त्री जनार्दन शर्माले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४’ र ‘प्रदेशसभा सदस्य निर्वाचन विधेयक, २०७४’ प्रस्तुत गरेका छन् ।


ADVERTISEMENT


नेपालको संविधानअनुसार आगामी माघ ७ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकारले ती विधेयक प्रस्तुत गरेको मन्त्री शर्माले स्पष्ट गरे ।


ADVERTISEMENT

# # #


उनले स्थानीय तहको निर्वाचन सम्पन्न हुने क्रममा रहेको र अन्य दुई चरणको निर्वाचन सम्पन्न गराउने दायित्वका साथ विधेयक प्रस्तुत भएको बताउँदै छलफल गरेर पारित गराउने सर्वाधिकारसमेत सदनमा नै रहेको बताए । कुनै दललाई प्रतिबन्ध लगाउने तथा उनीहरुलाई प्रजातान्त्रिक प्रक्रियामा सहभागी हुन रोक्ने कुनै पनि नीति नभएको मन्त्री शर्माको भनाइ छ ।

ती विधेयक प्रस्तुत गर्ने प्रस्तावमा सांसद डिल्लीप्रसाद काफ्ले र अनुराधा थापा मगरले पेश गरेको विरोधको सूचनालाई सदनको बहुमतले अस्वीकार गरेको थियो ।

यस्तै प्रधानमन्त्री एवं सामान्य प्रशासनमन्त्रीका तर्फबाट मन्त्री शर्माको ‘कर्मचारी समायोजन विधेयक, २०७४’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्यो । उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले प्रस्तुत गरेको ‘स्थानीय शासन विधेयक, २०७३’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई समेत बैठकले सर्वसम्मतिले स्वीकृत गर्यो ।

यसैगरी अर्थमन्त्रीका तर्फबाट मन्त्री शर्माले पेश गरेको ‘अन्तरसरकारी वित्त व्यवस्थापन विधेयक, २०७४’ र ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४’ लाई दफाबार छलफलका निम्ति सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गर्यो ।

त्यसअघि सभामुख ओनसरी घर्तीले विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे सदनलाई जानकारी गराउनुभएको थियो भने सदनले विभिन्न समितिमा थपिएका सांसदका नाममा सहमति जनाएको थियो ।